उमेशको संघर्ष र सफलताको कथामा ‘बोबी २’ निर्माण घोषणा

उमेशको संघर्ष र सफलताको कथामा ‘बोबी २’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको असार २९ गतेबाट रिलिज भएको हिट सिनेमा ‘बोबी’को सिक्वेल निर्माण हुने भएको छ । बोबी सिक्वेल ‘बोबी २: बाँकी कथा’को शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमा निर्माणको अफिसियल घोषणा गरिएको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण हुने सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दै छन् ।

उमेश थापा र कविता गुरुङको रियिल स्टोरीमा निर्माण भएको ‘बोबी’ले नेपालमा राम्रो व्यापार गरेको थियो । पहिलो हप्ता कमजोर व्यापार गरे पनि दोस्रो हप्ताबाट सिनेमाले बक्सअफिसमा ’पिकअप’ लिएको थियो । चैत दोस्रो साताबाट छायांकन सुरु हुने सिनेमा ‘बोबी २’मा उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ । यो सिनेमामा पनि रियल जोडी उमेश थापा र कविता गुरुङ, विजय लामा एलियास थापा लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।

पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । उनी भन्छन्, ’परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा सिनेमा केन्द्रित हुनेछ ।’ निदेशक चाम्स थप्छन्, ’पहिलो पार्टले दर्शकलाई इमोसनल बनाएको थियो । भने ’बोबी २’ ले दर्शकलाई संघर्ष गर्न प्रेरणा दिनेछ ।’

सिनेमाको घोषणा सभामा उमेशले आफ्नो कथाले गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसलाई ’इन्स्पायर्ड’ गर्न सकेको खण्डमा आफूले गरेको मेहनतलाई सफल भएको मान्ने बताए । यस्तै कार्यक्रममा छोरासहित उपस्थित कविताले भने उमेशको कथा पर्दामा हेर्न आफू पनि आतुर रहेको बताइन् । उनले भनिन्, ’उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको कुरा सुनाउदा म निकै भावुक हुन्छु । अब त्यो सबै कुरा पर्दामा आउँदैछ, म निकै उत्साहित छु ।’

नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथा तथा संवादमा ढालेका हुन् । सिनेमाका ५० प्रतिशत छायांकन नर्वेमा हुनेछ । भने बाँकी सिनेमाको छायांकन पोखरा र काठमाडौंमा हुनेछ । ’बोबी’लाई पनि नरेश र गिरिराजले मिलेर पटकथा तथा संवाद लेखेका थिए । ‘बोबी २’मा सुदीप बरालको डिओपी र नवराज उप्रेतीको छायांकन रहने छ । भने सिनेमालाई बनिष शाहले सम्पादन गर्नेछन् ।