‘कबड्डी ३’ बनाउने तत्काल कुनै योजना छैन: रामबाबु गुरुङ

‘कबड्डी ३’ बनाउने तत्काल कुनै योजना छैन: रामबाबु गुरुङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयका व्यस्त निर्देशक हुन् रामबाबु गुरुङ । उनलाई सिनेमा ‘कबड्डी’ ले यो क्षेत्रमा एकैपटक स्थापित गरिदियो । यही सिनेमाबाट उनले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाए । सोही सिनेमाले उनलाई कुशल निर्देशकका रुपमा पनि परिचय गराइदियो ।

निर्देशक गुरुङ यतिबेला ‘साइँली’ को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । साथसाथै बाहिर के समाचार पनि आइरहेका छन् भने उनले लगत्तै सिनेमा ‘कबड्डी ३’ बनाउँदैछन् ।

तर ‘कबड्डी ३’ तत्काल बनाउनेबारे भने रामबाबु जानकार नभएको बताउँछन् । बजारमा निर्देशक गुरुङले यो सिनेमाका लागि कलाकार नै चयन गरिसकेको समाचार आएपछि द सिनेमा टाइम्ससँगको विशेष कुराकानीमा निर्देशक गुरुङले तत्काललाई उक्त सिनेमा बनाउने कुनै योजना नभएको जानकारी दिए ।

यसअघि ‘कबड्डी’ को दोस्रो सिक्वेल ‘कबड्डी कबड्डी’ रिलिज भइसकेको छ । दुवै सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए भने दर्शकबाट पनि राम्रो प्रतिक्रिया आएको थियो । यसकारण पनि दर्शकमा यसको सिक्वेल बन्नेमा निकै चासो छ ।

यसको तेस्रो सिक्वेल बनाउनेबारे निर्देशक गुरुङले भने, ‘तत्कालका लागि कुनै योजना छैन, अहिले ‘साइँली’ कै पोस्ट प्रोडक्सनमा व्यस्त छौँ, यो सिनेमा लगत्तै प्रदीप खड्कालाई लिएर अर्को सिनेमामा लाग्छौँ ।’

उनले उक्त सिनेमाको लेखन र निर्देशनको पारिश्रमिकमा ५० लाख लिएका थिए । योसँगै सिनेमा ‘माछामाछा’ को काम पनि बाँकी रहेको उनले बताए । यो सिनेमा उनको आफ्नै प्रोडक्सनमा बनेको सिनेमा हो । । ‘कबड्डी ३’ तत्काल नबनाउने र अहिले सिनेमाको वानलाइन कथा पनि तयार नभएको उनले जानकारी दिए ।

उनले भने, ‘यो समाचार कसरी आयो थाहा भएन, ‘कबड्डी ३’ त बन्छ तर हाललाई योजना छैन, अहिले सिनेमाको कथा पनि सोचिएको छैन ।’

पछिल्लो समय उनले निर्देशन गरेको सिनेमा ‘साइँली’ ले वैदेशिक रोजगारी जानुपर्ने वाध्यताको पाटोलाई कथानक बनाएको छ । सिनेमा गतवर्षको सुपरहिट गीत ‘साइँली’ टिमले निर्माण गरेको हो ।