स्वस्तिमाको ‘बुलबुल’की रनकलासँग सवाल-जवाफ (भिडियो)

स्वस्तिमाको ‘बुलबुल’की रनकलासँग सवाल-जवाफ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन ३ गतेबाट रिलिज हुने सिनेमा ‘बुलबुल’ले प्रचार प्रसारमा नयाँ नयाँ प्रयोग गरिरहेको छ । पहिलो गीत रिलिज देशका पाँच सहरमा कलाकार कोरस डान्सर नचाएर फ्ल्यास मोब शैलीबाट गरेको थियो । त्यसपछि दुई टिजरमा एउटै दृश्य दुई मुख्य पात्रलाई मात्रै दर्शकमाझ सार्वजनिक गरेको थियो ।

यही दुई टिजरबाट मुकुन भुषाल चोपेन्द्रको रुपमा दर्शकमाझ परिचित भएका छन् । आइतबार प्रचारको सोही शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै सिनेमामा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमाले सिनेमामा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए ।

‘पहिला दुई टिजरमा हामीले (चोपेन्द्र)लाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं । यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,’पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

‘साँघुरो’का लेखक पौडेलको बुलबुल डेब्यु निर्देशकिए सिनेमा हो । सिनेमाले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । सिनेमामा स्वस्तिमा खड्काले पहिलो पटक टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय लगाएर टेम्पो चलाउन सिकेकी हुन् ।

सिनेमामा स्वस्तिमाका अलवा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमाको कथा, पटकथा तथा संवाद विनोद पौडेलले लेखेका हुन् । रामराजा दाहाल कार्यकारी निर्माता रहेको सिनेमालाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर निर्माण गरेका हुन् ।