काठमाडौं । आउँदो शुक्रवार अर्थात् माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित सिनेमा ‘गोपी’ को विशेष शो गरिएको छ । राजधानीमा गरिएको हलमा सिनेमाका कलाकार र विशिष्ठ व्यक्तित्त्वको उपस्थिति थियो ।
अहिलेका चर्चित कलाकारहरु विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको उक्त सिनेमा गाई पालक कृषक ‘गोपी’को मा निर्माण गरिएको हो । सिनेमाले दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो काम गर्नसकिन्छ भन्ने सन्देश बोकेको भन्दै अतिथिहरुले प्रतिक्रिया दिए ।

सिनेमाको विशेष शोमा नेपाली राजनीतिक व्यक्तित्व, सरकारी उच्च ओहदामा रहेका व्यक्तिहरु, व्यापारी तथा कलाकर्मीहरुको उपस्थिति रहेको थियो । सिनेमा हेरेका अतिथिले सिनेमाको कथा बिल्कुलै नयाँ भएको प्रतिक्रिया दिए ।

सिनेमा हेरिसकेपछि ‘छक्का पञ्जा’ टिमले सिनेमाले लोकल कथा उठाएको र सिनेमा हेर्न नेपाली मन लिएर आउनुपर्ने धारणा राखे । सिनेमामाथि प्रतिक्रिया दिँदै कलाकार दीपकराज गिरीले भने, ‘किसानहरुले गौरव गर्न लायक फिल्म बनेको छ, हामी सबैको जिउमा त्यही फिल्ममा देखाइए जस्तै गोबर गनाउँछ, हामी पनि त्यही पृष्टभूमिबाट आएका थियौँ । होला फरक कर्ममा छौँ, तर हामी सबै गोपी हौँ ।’

यस्तै जितु नेपालले पनि कृषि मन्त्रालयले विशेष सिनेमा घोषणा गर्नुपर्ने बताए । सिनेमाले नेपालको कृषि क्षेत्रका विभिन्न समस्यालाई उठान गरेको छ । सिनेमा हेरिसकेपछि संगीतकार अर्जुन पोखरेलले फिल्म हेरिसकेपछि आफ्नो प्रतिकृया दिँदै भने फिल्मले बोकेको स्वरोजगार र नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेशले आफ्नो मन छोएको बताए । संगीत कर्ममा लागेको आफुले संगीत पालन गरेको र आफु संगीतको गोपी रहेको उनले बताए ।

सिनेमाका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘राजनीती गर्ने व्यक्तिहरुलाई समेत यो सिनेमाले प्रेरित गर्छ, जुन साहस बोकेर यो फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ ।’
नेपाल कृषी प्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा रहेको धारणा उनको थियो । सरकारी तबरबाट सिनेमाका लागि केही गर्न सकिने धारणा उनको थियो ।

यस्तै सिनेमाको गोपी जस्तै आफु पनि गाई पालन गर्दै आएको अनुभव साट्दै पुर्व संचार मन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागी नेपालीहरु पलायन भइरहेको अवस्थामा नेपाल मै केही गर्न सकिन्छ भन्ने सन्देश फिल्मले बोकेको र त्यो जमातलाई यो सिनेमा देखाउन सकिए सिनेमाको उदेश्य पुरा हुने धारणा राखे । असफलता नै सफलताको कडी हो भन्ने सन्देश सिनेमामा रहेको उनको भनाइ थियो ।
नेत्री नविना लामाले सम्भावनाको खोजी गर्न सके नेपाल मै बसेर आर्थिक रुपमा सवल बन्न सकिने संदेश फिल्मले बोकेको बताइन् । आर्थिक रुपमा सवल बन्नका लागी विदेश नै धाउनु पर्छ भन्ने सोच बोकेका युवाहरुका लागि गोपी एउटा राम्रो संदेश बन्न सक्ने विश्वास उनको थियो ।
यो सिनेमालाई ‘घामपानी’ निर्देशन गरेका दीपेन्द्र लामाले निर्देशन गरेका हुन् भने सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा रहेको छ ।


प्रतिक्रिया