सुनिल थापा भन्छन्, ‘रणवीर’ बलिउड स्तरको सिनेमा हो

सुनिल थापा भन्छन्, ‘रणवीर’ बलिउड स्तरको सिनेमा हो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘रणवीर’को चर्चा परिचर्चा बढ्दो छ । रिलिजको पुर्व सन्ध्यामा गरिएको प्रिमियरले सिनेमाको मेकिङको चर्चालाई उचाईमा ल्याएको हो । सिनेमा हेर्ने अधिकाँस दर्शक तथा सिनेमाकर्मीले ‘रणवीर’को तारिफ गरेका छन् । साउथ इण्डियन सिनेमामा काम गरेर आइसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार सिनेमाले त्यस्तै स्वाद दिएको प्रतिक्रिया आइरहेको छ ।

सिनेमालाई सिनेमाकर्मी तथा मिडियाकर्मीको तारिफ मिलिरहेको बेला नै गत शुक्रबार राजधानीमा आयोजित फाल्गुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘क्याप्टेन’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार सुनिल थापाले पनि मन खोलेर ‘रणवीर’को तारिफ गरेका हुन् । प्रिमियरमा सिनेमा हेरेका सुनिलले ‘रणवीर’को स्तर बलिउड सिनेमा बराबरको रहेको बताए ।

‘सिनेमा निकै राम्रो बनेको छ, यो बलिउडको ए ग्रेडको सिनेमा झैँ लाग्छ’ उनले भने ‘सिनेमा हेर्नुस र ‘रणवीर’को बारेमा बोल्नुस, यस्ता सिनेमाले हाम्रो स्तर बढाउछ ।’ सुनिलले पछिल्लो समय बलिउडको स्पोर्ट्स ड्रामा सिनेमा ‘मेरिकोम’ मा काम गरेका थिए । ‘रणवीर’मा सुशील सिटौला, प्रशान्त ताम्राकार, सुवेक्षा खड्का, सुपुष्पा भट्ट, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, हरिहर शर्मा, जीवन भट्टराई, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भाट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्राची फिल्मस् र डिआर फिल्मस्को संयुक्त ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले सिनेमा निर्माण गरेका हुन् । सिनेमामा प्रेम, विछोड, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । सिनेमाको कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । ‘रणवीर’मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।