‘सयकडा दश’ हेरिरहँदा पटक–पटक रोए : लालबाबु पण्डित

‘सयकडा दश’ हेरिरहँदा पटक–पटक रोए : लालबाबु पण्डित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल सरकारका संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी तथा अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार सिनेमा ‘सयकडा दश’ हेरेका छन् ।

सिनेमा हेरेर हलबाट निस्कदै गर्दा मन्त्री पण्डितले सिनेमाको विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय सिनेमा तय गरिनुपर्ने बताए । उनले भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएको सिनेमा ‘सयकडा दश’लाई राष्ट्रिय सिनेमा भन्न सकिने तर्क पेश गरे ।

सिनेमा हेरिरहँदा आफु पटक–पटक रोएको बताउँदै उनले युवाले यो सिनेमा एकपटक हेर्नैपर्ने बताए । ‘यसको सन्देश प्रभावकारी मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ उनले भने, ‘भ्रष्टाचार रोक्नका लागि सिनेमाले भनेजस्तै सरकार कटिबद्ध रहेको छ ।’

लालबाबुले छेवैमा उभिएका अभिनेता एवं राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । सिनेमामा पौडेल एक भ्रष्ट सरकारी अधिकृतको भूमिकामा प्रस्तुत भएका छन् । मुख्य सचिव रेग्मीले सिनेमा समसामयिक र सन्देशमुलक रहेको छोटो प्रतिक्रिया दिए ।

अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि सिनेमा सशक्त माध्यम भएको बताए । ‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ उनले भने, ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’

शुक्रबार रिलिज भएको सिनेमामा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ । सिनेमामा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, सोनिया राई, उत्सव न्यौपाने, अमित पोखरेल, रश्मी भट्ट, रवि डंगोल लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमाले शनिबार मल्टिप्लेक्स र एकल पर्दामा राम्रो व्यापार गरेको निर्मात्री रज्जु प्रधानले बताइन् । दर्शन नेपाल क्रिएसनले निर्माण गरेको सिनेमालाई गतसाता थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको थियो ।