‘पुरानो बुलेट’ पोस्टरमा वर्षा र मालासँग रोमान्टिक अनुप

‘पुरानो बुलेट’ पोस्टरमा वर्षा र मालासँग रोमान्टिक अनुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बु स्टारर सिनेमा पुरानो बुलेटको एक साथ तीत पोस्टर सार्वजनिक गरिएको छ । चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको सिनेमाको तीन पोस्टरमा मुख्य कलाकारलाई समावेश गरिएको छ । लामो समयको रंग पत्रकारीतापछि भिषण राई निर्देशनमा होमिएका छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा बुलेटमा अनुप फिचर छन् ।अर्कोतर्फ बर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन् । सार्वजनिक पोस्टरबाट सिनेमा भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेका छन् ।

पछिल्लो समय रिलिज भएका हरेक सिनेमामा एकपछि अर्को गर्दै फरक अबतारमा प्रस्तुत हुँदै आएका अनुप विक्रम शाहीे ’पुरानो बुलेट’मा आजसम्म गरेका सम्पुर्ण सिनेमाको भन्दा फरक भुमिकामा प्रस्तुत भएको बताउँछन् । अनुपलाई दर्शकले हिरो भन्दा पनि भिलेनको रुपमा बढी रुचाएका छन् । तरपनि अनुप अहिले सिनेमामा भिलेन भन्दापनि हिरोको रुपमै रमाइरहेका छन् । अनुप भन्छन्, अहिले मलाई भिलेन भन्दा हिरो कै भुमिकामा धेरै अफर आईरहेकाले पनि राम्रो कथा र चरित्र हेरेर काम गरिरहेको छु ।

’पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ । वर्ल्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले केही दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सिनेमामा अनुप, बर्षा र मालाका अलवा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद लेखनमा निर्देशक भीषणले सन्तोष राईसँग सहकार्य गरेका छन् । सन्तोष राई सिनेमाका कार्यकारी निर्माता पनि हुन् । ‘पुरानो बुलेट’मा अशोककुमार राई (साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले मिलेर निर्माण गरेका हुन् । सिनेमामा उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामाको छायाँकन, प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेका छ ।