‘रुमालै छ चिनो’को पोस्टरमा यस्तो देखियो सुशान्त र अप्सनाको लुक्स

‘रुमालै छ चिनो’को पोस्टरमा यस्तो देखियो सुशान्त र अप्सनाको लुक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फागुन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रुमालै छ चिनो’को पोस्टर सार्वजनिक गरिएको छ । चर्चित लोक गायक रेशम थापाको हिट गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर सिनेमा निर्माण गरिएको हो । यो सिनेमालाई दिनेश सिंह ठकुरी निर्देशन गरेका हुन् । ‘रुमालै छ चिनो’को सार्वजनिक अफिसियल पोस्टरमा नायक सुशान्त कार्की र नायिका अप्सना थापालाई फिचर गरिएको छ ।

दुई पोस्टरमा सुशान्त र अप्सनालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ भने अर्को दुई पोस्टरमा सुशान्तको सिक्सप्याक शरीरलाई आकर्षक तरिकाले देखाइएको छ । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा सिनेमा आधारित छ । ज्योती फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेले मिलेर निर्माण गरेका हुन् । सिनेमाको यसअघि सार्वजनिक ट्रेलर र गीत, संगीतले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ ।

रेशम थापाको कथा रहेको सिनेमालाई बिनोद सापकोटाले छायांकन गरेका हुन् । सिनेमामा सुशान्त कार्की र अप्सना थापाका अलवा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रुमालै छ चिनोमा शिब थारुको सम्पादन रहेको छ ।