हिरोइन होइन राम्रो कलाकार बन्न मन छ : निता ढुंगाना

हिरोइन होइन राम्रो कलाकार बन्न मन छ : निता ढुंगाना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुंगानाले अभिनय गरेका सिनेमा पछिल्लो समय नेपाली बक्सअफिसमा खासै सफलता हात पार्न सकेका छैनन् । तर उनले अभिनय गरेका सिनेमाले नितालाई उत्कृष्ट अभिनेत्रीको रुपमा अवार्ड भने दिलाइनै रहेका छन् । निताले अभिनय गरेका थोरै सिनेमा सफल धेरै सिनेमा असफल छन् । तरपनि सधैं काम पाइरहने भाग्यमानी अभिनेत्रीको रुपमा चिनिन्छन् निता । अहिले पनि निता म्युजिक भिडियो देखि ठुलो पर्दाका सिनेमासम्म उत्तिकै व्यस्त छिन् ।

यस्तै सोमबार निताको अभिनय रहेको सिनेमा साइनोका पहिलो गीत रिलिज कार्यक्रम काठमाण्डौमा आयोजना गरिएको थियो । जेष्ठ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘साइनो’को गीत रिलिज कार्यक्रममा उनले आफ्नो मनको कुरा मिडियाकर्मी माझ व्यक्त गरिन् । यो सिनेमामा नीता र मिरुना मगरको मुख्य भूमिका छ । कार्यक्रममा पत्रकारले प्रश्न सोधे–‘प्रायः सोलो हिरोइनमा देखिने निता अब सहायक हिरोइनमा पनि लोभिन थालेकी हुन् ?’

पत्रकारको यो प्रश्नमा नीताले भनिन्– ‘होइन, मैले आजसम्म पूर्ण रुपमा सोलो हिरोइन मात्र भएर काम गरेको छैन । ‘मसान’ सिनेमामा अर्को पनि नायिका हुनुहुन्थ्यो तर, त्यही सिनेमाले मलाई राष्ट्रिय अवार्ड जितायो । त्यसैले मलाई सोलो हिरोइन भन्दा पनि भूमिका कस्तो छ भन्ने कुराले अर्थ राख्छ ।’

नीताले पत्रकारसँग कुरा गर्दै आफूलाई हिरोइन भन्दा पनि कलाकार भनेर चिनाउन मन लागेको खुलाइन । ‘हिरोइन भएर बस्ने हो भने ५–६ वर्षसम्म मात्र काम गर्न सकिएला त्यसपछि त काम पाउन मुश्किल पर्छ । तर, कलाकार भएर काम गर्ने हो भने सधै पाइन्छ’, नीताले थपिन्– ‘त्यसैले पनि मलाई हिरोइनमा कुनै लोभ छैन । मलाई एउटा राम्रो कलाकार बन्नु छ ।’

तस्वीर : निता ढुंगानाको फेसबुकबाट