द सिनेमा टाइम्स, काठमाडौं – छोटो समयमा धेरै सिनेमा निर्देशन गर्ने निर्देशक हुन् साम्तेन भुटिया । उनले नेपाली सिनेमामा ‘लेटर’ मार्फत डेब्यु गरेका थिए । डेव्यु सिनेमाले राम्रो व्यापार नगरे पनि साम्तेनले दर्शक तथा सिनेमाकर्मी माझ उनलाई राम्रो निर्देशकको रुपमा चिनायो । त्यस पश्चात निर्देशक साम्तेन भुटियाले तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका छन् ।
हरेक सिनेमाको कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको सिनेमा निर्माण तथा निर्देशन गरिरहेको आरोप उनलाई लाग्ने गरेको छ । कमर्सियल सिनेमा बनाउनु पर्ने सल्लाह धेरै सिनेमाकर्मी तथा साथीहरुबाट पाइरहेका साम्तेनले नयाँ सिनेमा ‘च च हुई’ पुर्ण रुपमा कमेडी कथामा निर्माण हुनेछ । हिमाली भेगमा छायाँकन हुने सिनेमाको शुटिङ युनिट त्यसतर्फ प्रस्थान गरिसकेको छ । कमेडी जनरको यो सिनेमामा आर्यन सिग्देलको मुख्य भुमिका रहेको छ । चक्लेटी अभिनेता आर्यन सिग्देल पहिलो पटक साम्तेनसँग कमेडी सिनेमामा काम गर्दैछन् ।
‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘सिनेमा मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’ एजीएम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमालाई अमृत घले लामाले निर्माण गर्दैछन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए । अभिनेता आर्यन सिग्देलले केहीदिनमा सिनेमामो सुटिङ सेट ज्वाइन गर्ने निर्माण टिमको भनाई छ ।


प्रतिक्रिया