माओत्सेको निर्देशनमा ‘सपनाको देश’ निर्माण हुने

माओत्सेको निर्देशनमा ‘सपनाको देश’ निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोजगारीको राम्रो अवसर खोज्दै विदेशिने नेपालीहरुको कथालाई समेटेर ’सपनाको देश’ नामक सिनेमा निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा निर्देशक तथा कलाकार माओत्से गुरुङले अमेरिका पुगेका नेपालीहरुको भोगाइलाई लिएर सिनेमा निर्माणको अफिसियल घोषणा गरे ।

ड्रिम्स गेट फिल्मको ब्यानरमा बन्न लागेको यो सिनेमा छायांकन नेपाल र अमेरिकामा गरिने छ । निर्माण टिमका अनुसार सिनेमाको २५ प्रतिशत छायांकन नेपाल र बाँकी ७५ प्रतिशत छायांकन अमेरिकामा हुने निर्देशक गुरुङले जानकारी दिए । निर्देशक गुरुङले भने, ’अमेरिकालाई सपनाको देशको रुपमा लिइन्छ । त्यही भएर यो सिनेमाको अधिकांश छायांकन अमेरिकामा नै गर्न लागेका हौँ ।’

करिब ८० लाख बजेटमा निर्माण हुन लागेको सिनेमामा बाबु बोगटी, एन्सर्ज गुरुङ, मिरा गुरुङ, आइतराम गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहने छ । देव गुरुङको लगानी रहने सिनेमाको कथा एन्सर्ज गुरुङले लेखेका हुन् । यो सिनेमाले अमेरिका पुगेपछि भोग्नुपर्ने कठिनाईहरुलाई कथावस्तु समावेश गरिएको सिनेमाकर्मी प्रितम गुरुङले बताए ।

सिनेमाको मुख्य अभिनेत्रीमा एन्सर्जलाई नै किन लगियो भन्ने पत्रकारको जिज्ञासामा निर्देशक गुरुङले भने, ’पहिलेदेखि सँगै काम गरेको, सेन्टिमेन्टल कथावस्तुमा वास्तविक अभिनय गर्ने क्षमता उहाँमा छ ।’ एन्सर्ज गुरुङले यसअघि ’मनको बाबरी’ लगायतका केही सिनेमामा अभिनय गरिसकेकी छन् । यो सिनेमामा शम्भु मोक्तानको छायाँकन र दावा शेर्पाको गीत र संगीत रहेको छ ।