‘दाल भात तरकारी’को ‘भिजिट भिषामा’लाई युट्युबमा करोड भ्युज

‘दाल भात तरकारी’को ‘भिजिट भिषामा’लाई युट्युबमा करोड भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रतिक्षीत सिनेमा ‘दाल भात तरकारी’को पहिलो गीत ‘भिजिट भिषामा’ले युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै एक करोड बढी दर्शकाको साथ पाएको छ । यो गीतले सार्वजनिक भएको ४५ दिनमा नै युट्युबमा एक करोड दर्शक पाएको हो । गीतको भिडियोमा लाइक गर्नेको संख्या ६८ हजार भन्दा बढी छ भने डिसलाइक गर्नेको संख्या ४ हजार ८ सय छ । भिडियोमालाई ५ हजार भन्दा बढी दर्शकले कमेन्ट गरेका छन् ।

सिनेमाको सार्वजनिक गीतले युट्युब कमेन्टमा अधिकांश दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाको भिडियोमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । गीतको युट्युबको कमेन्ट बक्समा अभिनेता हरिवंश आचार्य र निरुता सिंहको जोडीलाई दर्शकले निकै रुचाएका छन् । यसका साथै भिडियोमा पुष्प खड्का, वर्षा राउत, आँचल शर्माको डान्स स्टेपलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक गीतको शब्द रचना हरिवंश आचार्यको हो भने यो गीतमा पुराना संगीतकार शुम्भुजित बास्कोटाको संगीत छ । पछिल्लो समयका व्यस्त कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चर्चित गायिका अञ्जु पन्त र निशान भट्टराईको स्वर छ । यो गीतले दर्शकमाझ सिनेमाको निकै राम्रो हाइप बनाउन सहयोग गरेको निर्माण टिमको बुझाई । बरिष्ठ कलाकार हरिवंश आचार्यकै कथा, पटकथा तथा संवाद रहेको सिनेमाको गीत ‘भिजिट भिषामा’लाई सामाजिक सञ्जाल टिकटकमा पनित निकै रुचाएको छ ।

‘मह संचार’को व्यानरमा निर्माण भएको सिनेमा ‘दाल भात तरकारी’लाई प्रस्तुतकर्ता किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् । ‘दाल भात तरकारी’ आगामी वर्षको बैशाख १३ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुनेछ । रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठको लगानी रहेको सिनेमामा दिर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।