भाद्र ६ गतेबाट प्रदर्शन हुने भयो नम्रताको ‘जाइरा’

भाद्र ६ गतेबाट प्रदर्शन हुने भयो नम्रताको ‘जाइरा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’ यो बर्ष नै प्रदर्शन हुने तयारीमा रहेको थियो । अन्तत ‘जाइरा’ले आफ्नो नयाँ प्रदर्शन मिति तय गरेको छ । अभिनेत्री नम्रता श्रेष्ठलाई मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखाइएको यो सिनेमालाई आउँदो बर्षको भदौ ६ गते रिलिज हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमालाई रिलिज गर्न लागिएको निर्माण टिमले जनाएको छ । एक महिलाले लिएको प्रतिशोधको कथामा यो सिनेमा निर्माण भएको छ । ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यही सिनेमाबाट श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले डेब्यु गर्दैछन् । नम्रताले ‘जाइरा’का लागि लामो कपाल समेत काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् । नायिका श्रेष्ठले आफूले सिनेमाका लागि ६ महिना एक्सनको तालिम समेत लिएको बताइन् । आशुतोष राज श्रेष्ठले सिनेमालाई निर्देशन गरेका हुन् । ‘जाइरा’को कथा, पटकथा तथा संवाद निर्देशक श्रेष्ठ र निरोज महर्जनले लेखेका हुन् ।

कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको प्रस्तुतकर्तामा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालि रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको सिनेमालाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । केशव थापाको नृत्य निर्देशन रहेको ‘जाइरा’मा राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व निर्देशन छ ।