अपिलको नयाँ सिनेमा ‘प्रताप’का लागी अनमोललाई अफर ?

अपिलको नयाँ सिनेमा ‘प्रताप’का लागी अनमोललाई अफर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनमोल केसी नेपाली सिनेमा क्षेत्रका सर्वाधिक मंहगाा कलाकार हुन् । उनलाई ५० लाख पारिश्रमिक तिरेर आफ्नो सिनेमामा काम गराउन चाहने निर्माता निर्देशको जमात निकै ठुलो छ । त्यसैले त पछिल्लो समय अनमोल केसीलाई बक्सअफिसमा पैसा छाप्ने मेशिन भन्ने गरिन्छ । अहिले अनमोल केसी अभिनीत सिनेमा ‘क्याप्टेन’ दोस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको छ । भने ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसरमा चैत्र २९ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

यसैबीच अनमोललाई आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ’कागजपत्र’ का निर्देशक अपिल विष्टले आफ्नो एक नयाँ सिनेमाका लागी अफर गरेका छन् । उक्त सिनेमाको नाम ‘प्रताप’ जुराइएको छ । सिनेमाको ’वानलाइन स्टोरी’ अनमोलले सुनिसकेका छन् र उनलाई स्टोरी मन पनि परेको छ । श्रोतका अनुसार अनमोलाई ’वानलाइन स्टोरी’ मनपरेपछि उनले निर्देशक विष्टसँग सिनेमाको फाइनल स्क्रिप्ट मागेका छन् ।

अनमोल यतिवेला सिनेमा ‘ए मेरो हजुर ३’ को एक गीतको छायांकनका लागि सोलुखुम्बु गोकियो पुगेका छन् । उनी मंगलवार राजधानी फर्किदैछन् । उनी काठमाडौं फर्केलगत्तै निर्देशक विष्ट सहितको टिमले सिनेमाको फाइनल स्क्रिप्ट बुझाउँदैछ । स्रोतले दिएको जानकारी अनुसार, ‘प्रताप’को स्क्रिप्टसँगै निर्देशक विष्टको टिमले अन्य दुई लभस्टोरी सिनेमाको स्क्रिप्ट पनि अनमोललाई दिने तयारीमा छ ।

अनमोल काम गर्न तयार भएको खण्डमा निर्देशक विष्टले ‘प्रताप’को छायांकन अर्को वर्षको बैशाख वा जेठबाट सुरु गर्ने तयारी थालेको स्रोत बताउँछ । तर, अनमोलले ’वानलाइन स्टोरी’ परेता पनि फाइनल स्क्रिप्ट नपढि निर्णय नदिने बताएका छन् ।