अपिल भन्छन्,-‘कागजपत्र’ले दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन दिन्छ

अपिल भन्छन्,-‘कागजपत्र’ले दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन दिन्छ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नाजिर हुसेन र शिल्पा मास्के स्टारर सिनेमा ‘कागजपत्र’ प्रदर्शनको तयारीमा रहेको छ । अहिले प्रचार प्रसारलाई तीव्र बनाइ रहेको निर्माण टिमले सिनेमाको गीत संगीत र ट्रेलरले दर्शकबाट पाएको प्रतिक्रियाले बक्सअफिसमा राम्रो ब्यापार गर्नेमा आशावादी छ । होलिको विदाको समय परेकाले पनि दर्शकले होली खेल्दै ‘कागजपत्र’ हेर्ने विश्वास निर्माण टिमलाई छ ।

यस्तै निर्देशक अपिल बिष्टले सिनेमाले दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन दिने बताउँछन् । हाम्रै गाँउ समाजमा घट्ने समसामायिक विषय वस्तुलाई टपक्क टिपेर सिनेमा निर्माण गरेकाले पनि सिनेमा हेर्ने हरेक दर्शकले ‘कागजपत्र’मा आफ्नो कथा देख्ने विश्वास उनलाई छ । अपिल भन्छन्, ‘मैलै निर्देशन गरेको पहिलो सिनेमा ‘झुम्की’को कमी कमजोरी ‘कागजपत्र’मा सुधार गरेकाले पनि सिनेमा सोचेको भन्दा राम्रो बनेको छ ।’ नक्कली कागजपत्र बनाएर नक्कली विवाह गरेर विदेश जाने समस्या पछिल्लो समय निकै बढेकाले पनि यो विषयमा समाजलाई व्यग्यं गर्न आफुले सिनेमा निर्माण गरेको अपिलको भनाई छ ।

नक्कली कागजपत्र निर्माण गरेर नक्कली विवाह गरी विदेश जानको लागी एक परिवार गर्ने संघर्षको कथा हो ‘कागजपत्र’ । गाउँ समाजमा धन, सम्पत्ति र पैसा कमाएर समाजमा आफुलाई उच्च दर्जामा पुर्याउन एक श्रीमतीले आफ्नो चालिस कटेको सरकारी जागीरे श्रीमानलाई बहिनीसँग नक्क्ली विवाह गराएर विदेश पठाउन उसले भोग्ने दुःख र पिडाको कथालाई रमाइलोसँग ‘कागजपत्र’मा प्रस्तुत गरिएको छ । उक्त भुमिका कलाकार तथा नाट्यकर्मी सरिता गिरीले निर्वाह गरेकी छन् । सरिता भन्छिन्, ‘मैलै आफ्नो क्यारेक्टरलाई शतप्रतिसत न्याय गर्ने प्रयास गरेकी छु ।’ सायद मेरो भुमिकालाई दर्शकले मन पराउने छन् ।

सिनेमामा नाजिर हुसेन, शिल्पा मास्केका अलवा भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ । यस्तै ‘कागजपत्र’मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।