‘दि म्यान फ्रम काठमाडौं’को प्रिमियरको लागी तेस्रो पटक नेपाल आए गुलशन

‘दि म्यान फ्रम काठमाडौं’को प्रिमियरको लागी तेस्रो पटक नेपाल आए गुलशन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गुलशन ग्रोवर बलिउडमा नाम चलेका कलाकार हुन्। उनलाई बलिउडका दर्शकले ‘ब्याडम्यान’को नामबाट चिन्ने गर्छन् । गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । आफू अभिनीत पहिलो नेपाली सिनेमा ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरका लागि मंगलवार दिउँसो काठमाडौं ओर्लिएका थिए । काठमाडौं ओर्लिएसँगै उनले बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा सयौं नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उक्त कार्यक्रममा गुलशनले नेपाल र नेपालीका निकै प्रशंसा गरे ।

सिनेमा निर्माण टिमले आयोजना गरेको ‘दि म्यान फ्रम काठमाडौं’को प्रचार प्रसार कार्यक्रममा आफू पहिलो पटक आफ्नो एकदमै मिल्ने साथी मनिष कोइरालासँग नेपाल आएको बताए । उनले भने – ’तपाईंहरुको देशकी अभिनेत्री मनिषा कोइराला मेरो सबैभन्दा मिल्ने साथी हुन् । उनैसँग म पहिलो पटक नेपाल आएको थिएँ । दोस्रो र तेस्रो पटक आफुले अभिनय गरेको नेपाली सिनेमाको प्रचारको लागी नेपाल आएको छु ।’

गुलशनले नेपाल आफुलाई सवैभन्दा मनपर्ने देश रहेको बताउँदै भने – ‘मलाई नेपालको सबै कुरा मनपर्छ । नेपाली खाना, नेपालको सुन्दरता, नेपालको कल्चर मनपर्छ ।’ उनले नेपालीहरु एकदम इमान्दार हुने पनि बताए । दर्शकहरुको अत्याधिक मागपछि गुलशनले आफ्ना चर्चित हिन्दी सिनेमाका डाइलगहरु पनि सुनाए ।

गुलशनसँगै पाटन दरवार स्क्वायरमा सिनेमाकी अभिनेत्री आना शर्मा, कलाकार शिशिर बाङ्देल लगायतका निर्माण टिमको उपस्थित थियो । सिनेमामा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको पनि अभिनय छ ।

उनी बिहीवार राजधानीमा हुने ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरमा सहभागी हुनेछन् । आफूले अभिनय गरेको पहिलो नेपाली सिनेमा हेरेर प्रतिक्रिया दिन पनि उनले दर्शकलाई आग्रह गरे । सिनेमा यही शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदैछ । अन्र्तराष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गरिएको यो पहिलो नेपाली सिनेमा हो । नकिम उद्दिनले निर्माण गरेका सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।