शुक्रबारबाट हलमा ‘दि म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ रिलिज

शुक्रबारबाट हलमा ‘दि म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट तीन नेपाली सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । आजबाट हलमा नेपालमा बनेको पहिलो अंग्रेजी सिनेमा ‘दि म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । पाँच करोड माथीको बजेटमा निर्माण भएको सिनेमालाई नेपाली मुलका पेमा धोन्डुपले निर्देशन गरेका हुन् । यस्तै ‘जानी नजानी’लाई लामो समय मुख्य सहायक निर्देशको रुपमा काम गरेका बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यता आजैबाट प्रदर्शन भएको सिनेमा ‘पुरानो बुलेट’लाई रंग पत्रकार भिषण राईले निर्देशन गरेका हुन् ।

देशकै ठुलो मल्टीपेलेक्स चेनका सञ्चालक नमि उद्दिनले निर्माण गरेको सिनेमामा बलिउड अभिनेता गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतम लगायतको अभिनय रहेको छ । सिनेमाले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । सिनेमाले बिहीवार आयोजीत प्रिमियर शोमा दर्शक तथा सिनेमाकर्मीबाट मिश्रित प्रतिक्रिया पाएको छ ।

पुर्वेली जन जीवनको टिपिकल कथा भन्ने सिनेमा ‘पुरानो बुलेट’लाई सन्तोष राईले निर्माण गरेका हुन् र सिनेमा कथा पनि सन्तोष आफैले निर्देशक भिषण राईसंग मिलेर लेखेका थिए । सिनेमामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

रोशनी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । ‘जानी नजानी’लाई मोदनाथ खनाल र सागर काजी मालीले मिलेर निर्माण गरेका हुन् । आधुनिक प्रेमकथा बोल्ने सिनेमामा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको कलाकारको अभिनय रहेको छ ।