मोफसल टुर सकेर काठमाडौं फिर्यो ‘साइँली’ टिम

मोफसल टुर सकेर काठमाडौं फिर्यो ‘साइँली’ टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १५ गतेबाट रिलिज हुने सिनेमा ‘साइँली’ निर्माण टिम प्रचार प्रसारमा जोडतोडका साथ लागी रहेको छ । सिनेमा निर्माण टिमले कलाकारको जम्बो टिम सहित मोफसलका विभिन्न सहरहरुमा पुगेर अहिले काठमाडौं फिरेको छ । निर्माता तथा कलाकार गौरव पहाडीका अनुसार मोफसलमा आयोजित विभिन्ने मेला, महोत्सव र स्कुल, कलेजका दर्शकमाझ प्रत्यक्ष भेटघाट गरेर सिनेमाको प्रचार गरिएको बताए ।

उक्त मोफसल टुरमा गौरवका अलवा दयाहाङ राई, मेनुका प्रधान, केनिपा सिंह, संगीतकार तथा गायक काली प्रसाद बास्कोटा, गायक तथा निर्माता हेमन्त राना लगायतको टिम थियो । हेमन्त रानाको हिट गीत ‘सुन साइँली’को नाम सापटी लिएर यो सिनेमा निर्माण गरिएको हो । निर्देशक रामबाबु गुरुङले ‘साइँली’को कथा साइला विदेशीनु भन्दा पहिलेको कथा रहेको बताए ।

गीतले उठाएको थिममै सिनेमा निर्माण भएतापनि श्रीमान विदेश जानु पहिले परिवार गाउँ समाजमा भोग्नु परेको पिडा सिनेमामा पेश गरिएको छ । सिनेमाको सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले पनि साइँलीले राम्रो व्यापार गर्नेमा निर्माण टिम आशावादी छ । योसँगै ‘सुन साइँली’ गीतको अहिले पनि दर्शकमाझ छुट्टै छाप छ त्यसैले पनि दर्शकलाई हलसम्म डोर्याउने विश्वासमा निर्माण टिम छ ।

बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमालाई समाजिक कथावस्तुलाई पर्दामा उतार्न सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो सिनेमालाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको सिनेमामा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । भने सिनेमाका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।