साधना कला केन्द्रले ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ आयोजना गर्ने

साधना कला केन्द्रले ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ आयोजना गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साधना कला केन्द्रले अभिनेता राजेश हमाललाई मेगास्टार भन्दै ‘ट्रिब्युट’ गर्ने भएको छ । शुक्रवार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागेको जानकारी गरायो । साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी गर्ने जमर्को आफ्नो संथाले गरेको बताए । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक राजेशपायल राई, यम बराल, दोस्रो नेपाल आइडलका विजेता रवी ओड लगायतको उपस्थिति रहेको थियो ।

आउँदो वर्ष २०७६ को जेठ महिनामा ‘ट्रिब्युट’ कार्यक्रमको आयोजना गरिने भएता पनि मिति भने तय भइसकेको छैन । अभिनेता हमालको सिनेमा यात्रामा धेरै व्यक्तित्व जोडिएको हुनाले उनीहरुसँगको छलफल पश्चात् एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ‘ट्रिब्युट’ गर्ने सोच पलाएको सुनाए । उनले भने हाम्रो उद्देश्य राम्रो लागेकाले पनि हमालले आफु र आफ्नो संस्थालाई सम्मानको लागी अनुमती दिएको बताए ।

अभिनेता राजेश हमालले एउटा राम्रो कार्यको थालनी आफूबाट हुन लागेकोमा खुसी व्यक्त गरे । ‘यसले एउटा परम्पराको थालनी गरेको छ । यत्रो वर्षको सिनेमा यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो’, उनले भने । संगीतकार बाँस्कोटाले हमाल ‘ट्रिब्युट’ को हकदार रहेको बताए । उनले भने, ‘राजेश एक यस्ता कलाकार हुन् जसको नाम नै पहिचान हो । उनलाई ‘ट्रिब्युट’ गरिनु समग्र सिनेमा क्षेत्रकै लागि ठूलो सम्मानको कुरा हो ।’

यो कार्यक्रममा उपस्थित बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक राजेशपायल राई, यम बराल र रवी ओडले नेपालमा एउटा राम्रो कामको थालनीे भएको भन्दै आयोजक तारिफ गर्दै कार्यक्रमलाई सफलताको शुभकामना दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक, उनको को स्टारलाई ‘ट्रिब्युट’ मा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए ।