प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्यो ‘क्याप्टेन’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्यो ‘क्याप्टेन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । भोलीबाट चौथो सातामा प्रवेश गर्न लागेको सिनेमा ‘क्याप्टेन’ हेर्न फागू पूर्णिमाको अवसरमा काठमाण्डौको बीग मुभिज स्थित प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए । प्रधानमन्त्री ओलीले पुरा समय हलमा बसेर कलाकार अनमोल केसी, निर्देशक दिवाकर भट्टराई, निर्माता भूवन केसी, डेव्यु अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग सिनेमा हेरेका थिए ।

सिनेमा हेरेर हलबाट निश्कँदै गर्दा मिडियालाई छोटो प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले भने–‘मलाई सिनेमा राम्रो लाग्यो । इशान खड्का क्याप्टेनका उत्कृष्ट खेलाडी हुन् ।’ पत्रकारको अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नमा रमाइलो जवाफ दिदै भने–‘म अनमोल केसी चिन्दिन । इशान खड्का इज बेष्ट ।’

राष्ट्रिय चलचित्र नीति किन पारित हुन सकेन भन्ने पत्रकारको प्रश्नमा आफूसँग अहिले यो बिषयमा कुरा गर्ने समय नभएको भन्दै प्रधानमन्त्रीले यस विषयमा बोल्न चाहेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेमा हेर्नका लागि समय छुट्याएपछि नायक अनमोल केसी पनि खुशी देखिएका थिए । अनमोल भने–‘देशको प्रधानमन्त्री जस्तो व्यक्ति म जस्तो भर्खरै सिनेमा क्षेत्रमा उदाउँदै गरेको कलाकारको सिनेमा हेर्न आइदिनु भयो, यो मामलामा म आफुलाई एकदमै भाग्यमानी ठान्छु ।’

दर्शकहरुले सिनेमामा अनमोलको कामलाई उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन्, भने समिक्षकले मिश्रीत प्रतिक्रिया दिएको ‘क्याप्टेन’ सफलताका साथ तेस्रो सातामा प्रदर्शन भैरहेको छ । अभिनेता तथा निर्माता भुवन केसीले प्रधानमन्त्रीले पनि सिनेमालाई मन पराई दिनुभएको भन्दै खुशी व्यक्त गरे । उनले, प्रधानमन्त्री ओली सिनेमा हेर्न आउने भएपछि आफू डराएको प्रतिक्रिया दिएका थिए । फुटबल, प्रेम र पारिवारिक कथामा निर्माण भएको यो सिनेमाले तेश्रो सातामा प्रदर्शन भइरहदा लगानी सुरक्षित गरिसकेको निर्माण टिमले बताएको छ ।