चलचित्र कलाकार संघको अध्यक्ष पदमा सरिता र लयको उम्मेदवारी

चलचित्र कलाकार संघको अध्यक्ष पदमा सरिता र लयको उम्मेदवारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका लागी महासचिव सरिता लामिछाने र कलाकार तथा निर्देशक लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन् । सरिता महासचिवबाट अध्यक्ष बन्ने दौडमा छिन् भने लय संग्रौलाले यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, स्वर्गीय कलाकार तथा निर्माता रामकेशर बोगटीसँग उनी पराजित भएका थिए । अहिले फेरि उनले रामकेशर बोगटीले गरेका राम्रा कामलाई सम्झँदै अध्यक्ष पदको लागी उम्मेदारी घोषणा गरेका हुन् ।

सरिता लामिछाने र लय संग्रौला दुवैले सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लयले प्रतिबद्धतासहितको उम्मेदवारी घोषणा गरेका छन् । भने, सरिताले उम्मेदवारी मात्र घोषणा गरेकी छन् । स्वर्गीय बोगटीले राम्रो काम गरेको र उनले अघि सारेका कामलाई पूरा गर्ने प्रतिबद्धता लयले व्यक्त गरेका छन् ।

यस्तै हाल कलाकार संघको महासचिव रहेकी लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छन् । पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतको सिनेमामा पनि अभिनय गरेकी छन् ।

यता लय संग्रौलाले पनि थुप्रै टेलिसिरियलमा काम गरेका छन् । पछिल्लो समय उनी सिनेमा निर्माण र निर्देशनमा व्यस्त छन् । ६ भन्दा बढी सानो पर्दाका टेलिश्रृंखला निर्देशन गरेका उनी सिनेमा निर्देशक पनि हुन् । ’लोग्ने मान्छे’ चिनारी, बाह्र मासे लगायतका सिनेमा लयले निर्माण तथा निर्देशन गरिसकेका छन् । पुनः कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उनले सरितालाई पराजित गर्न फलामको चिउरा चपाउन जस्तै रहेको सिनेमाकर्मीको बुझाई छ ।