एलएका विद्यार्थीमाझ सलिनमानले गरे ‘यात्रा’को प्रचार

एलएका विद्यार्थीमाझ सलिनमानले गरे ‘यात्रा’को प्रचार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्राः अ म्युजिकल भ्लग’को प्रचार प्रसार अहिले तीव्र गीतमा भैरहेको छ । डेव्यु सिनेमा ‘ए मेरो हजुर २’ मार्फत नै स्टार कलाकारको छाप छाड्न सफल भइसकेका अभिनेता सलिन मान बनियाँ आफ्नो दोस्रो सिनेमा ‘यात्रा स् अ म्युजिकल भ्लग’ को प्रमोसनको लागी हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलएकै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको ’एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिनमान आफ्नो सिनेमा यात्रा निर्माण टिम सहित पुगेका थिए । सलिनसँगै डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै सिनेमाको बारेमा बोल्दै सिनेमामा समावेश गीत चट्ट रुमाल क्या मालुममा नृत्य समेत गरका थिए ।

सलिनमानको कलेज प्रवेशसँगै उनिसँग सेल्फी खिच्न विद्यार्थीको लाइननै लागेको थियो । सिनेमा तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विधार्थीले उनको सिनेमाको बारेमा जानकारी लिदै सफलताको शुभकामना समेत दिए । सलिनमानले नेपाली सिनेमालाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले सिनेमा हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले सिनेमा क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए । उनिसँगै सलोनले गीत गाउँदै आफ्नो सिनेमा यात्राका डायलग समेत बोलेर विद्यार्थीमाझ सुनाएका थिए ।

यात्राकै विषयवस्तुमा आधारित सिनेमामा सलिनमानले भ्लगरको भूमिका निर्वाह गरेकाछन् । सिनेमामा सलिनमान बनियाँ र डेव्यु गर्ल मलिका महतका अलवा, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमामा केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताको रुपमा रहेका छन् । सुशील पोखरेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । सिनेमाको कथापनि निर्देशक सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । सिनेमामा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको छ ।