अनाथ बालबालिकालाई ‘लभ स्टेशन’ निर्माण टिमको सहयोग

अनाथ बालबालिकालाई ‘लभ स्टेशन’ निर्माण टिमको सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भेट्रान निर्देशक उज्वल घिमिरेको निर्देशनमा तयार भएको सिनेमा हो ‘लभ स्टेशन’ । आगामी चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माण टिमको तर्फबाट अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकालाई नीजि बिद्यालयमा पढाउँदा लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क सहयोग प्रदान गरेका छन् ।

काठमाडौंको गोकर्ण स्थित सँयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिद्यालय भर्ना सहित तीन महिनाको लागि शुल्क बापतको एक मुस्ट रकम शनिबार बिहान प्रदान गरिएको हो । अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले शनिबार बिहान उक्त अपाङ्ग आवाज केन्द्रमा पुगेर विद्यार्थीहरुका लागि अध्ययन खर्च प्रदान गरेका हुन् ।

विधार्थीहरुलाई भर्ना सहित तीन महिनाको शुल्क प्रदान गर्नुको कारणबारे अभिनेता प्रदीपले भने,‘कलाकारको दायित्व भनेको अभिनयमात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विद्यार्थीहरुको अध्ययन खर्चको जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले यहाँ रहेका ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ट बुझाएका हौं ।’

सिनेमामा प्रदीप खड्काका अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, रश्मी पाण्डे, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन रहेको सिनेमाका गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।