द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र निर्माता संघका बरिष्ठ उपाध्यक्ष केशव भट्टराई सोमबार चलचित्र विकास बोर्ड पुगेर बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । केही दिन पहिले मात्रै विकास बोर्ड अध्यक्षमा नियुक्त भएका थिए । पदभार ग्रहण गरेपछि बोर्ड अध्यक्ष भट्टराइले सिनेमा क्षेत्रको हितका लागि आफुले सकेको काम गर्ने तर सिनेमा क्षेत्रको अहित हुने कुनै पनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे । भट्टराईले भने–‘विगतमा चलचित्र विकास बोर्डले के कस्ता काम गर्यो, त्यो मलाई थाहा छैन । म यहाँ रहने भनेको कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर होइन । म विकास बोर्डमा रहुन्जेल कुनैपनि सिनेमा क्षेत्रका संघ संस्थामाथि हस्तक्षेपकारी नीति रहने छैन् ।’

बोर्ड अध्यक्ष भट्टराईले सरकारलाई १६ बुँदामा महत्वकांक्षी योजना बुझाएको बताउँदै त्यसको बारेमा केही दिनमा फेरी पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिने पनि स्पष्ट पारे । उनले राष्ट्रिय चलचित्र नीति २०७१ लाई पारित गर्नका लागि आफूले सक्ने जती प्रयास गर्ने बताए । साथै, उनले साउनदेखि लागू भएर पनि खासै सक्रिय नदेखिएको बक्स अफिस प्रणालीलाई लागू गर्नका लागि कटिबद्ध भएर लाग्ने पनि स्पष्ट पारेका छन् । यस्तै, अध्यक्ष भट्टराइले २ बर्षदेखि रोकिएको चलचित्र पुरस्कार र सम्मानको कामलाई पनि अगाडि बढाउने बताए । यस्तै काठमाण्डौ वरिपरी सुविधा सम्पन्न इनडोर स्टूडियोको आवश्यकता परेको भन्दै उनले यसका लागि सरकारसँग पहल गर्ने जानकारी दिए ।

उनले सिनेमाकर्मीलाई आग्रह गर्दै भने–‘म चलचित्र विकास बोर्डमा धेरै भन्दा धेरै समय बिताएर काम गर्न चाहन्छु । यसैले मलाई साना–साना सिनेमाका कार्यक्रममा नबोलाइ दिनु होला ।’ पत्रकारले उनलाई विशेषगरि, नेपाली सिनेमामाथि भैरहेको बलिउड सिनेमाको थिचोमिचो र त्यसमा वितरक र हल संचालकको आवद्धताको बारेमा बढी प्रश्न सोधेका थिए । उनले, नेपाली सिनेमाको हितका लागि काम गर्ने बताएका छन् ।

चलचित्र विकास बोर्डको सम्पूर्ण खर्च हिन्दी र अंग्रेजी सिनेमाबाट आउने करले नै चल्दै आएको छ । यसैले, बोर्डले ती सिनेमाको प्रदर्शनमा कुनै पनि खालको हस्तक्षेपकारी नीति लिन सकेको छैन, भन्ने गुनासो धेरै निर्माता, निर्देशक साथीहरुको छ । तर राष्ट्रिय चलचित्र नीति पारित नहुँदा यस्तो बिषयमा समस्या पर्दै आएको बोर्ड अध्यक्ष भट्टराईको बुझाई छ । बोर्ड अध्यक्षमा भट्टराइको कार्यकाल २ बर्षको रहनेछ । उनको कार्यकालमा सिनेमा क्षेत्रमा धेरै कुराको सुधार हुने अपेक्षा सिनेमाकर्मीले राखेका छन् ।


प्रतिक्रिया