anmol jasita

‘यात्रा’ को कथाले मलाई यसरी तान्यो कि, रिजेक्ट गर्न नै सकिन – सलिनमान बनिया

‘यात्रा’ को कथाले मलाई यसरी तान्यो कि, रिजेक्ट गर्न नै सकिन – सलिनमान बनिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा एउटै सिनेमा खेलेर चर्चामा आउने नायकहरु धेरै छैनन् । तीमध्ये सलिनमान बनिया पनि एउटा मात्र सिनेमामा काम गरेर चर्चामा आउने अभिनेतामा पर्छन् । झरना थापाको डेब्यु निर्देशन सिनेमा ‘ए मेरो हजुर २’ सलिनमानका लागि डेब्यु सिनेमा थियो । यो सिनेमाबाट सलिनमानले राम्रो फ्यान फलोइङ कमाए।

अहिले सलिन आफ्नो दोस्रो प्रोजेक्टका साथ पर्दामा आउँदैछन् । सिनेमा ‘यात्रा’ को रिलिज मिति नजिकिँदै गर्दा दर्शकको पनि उनीप्रति आशा र भरोसा बढ्दै गइरहेको छ ।

रिलिजको मिति नजिकिँदै गर्दा यी राइजिङ स्टारको पनि चर्चा उत्तिकै भइरहेको छ । पहिलो सिनेमाबाट राम्रो फ्यान फलोइङ कमाएका सलिनमान यो सिनेमा पनि दर्शकले रुचाउनेमा विश्वस्त छन् ।

उनका अनुसार यो सिनेमाको कथा नै यति बलियो छ कि, दर्शकलाई मनोरञ्जन मात्र होइन, म्यासेज पनि दिन्छ । जुन म्यासेजले अरु नेपालीलाई पनि सहयोगमा जुट्नुपर्छ भन्ने भावना जगाउँछ ।

‘यो सिनेमाले मलाई मात्र होइन, पूरै टिमलाई आशा दिएको छ, सिनेमाको शीर्षकअनुसार यात्रा त गराउँछ नै, एउटा म्यासेज पनि छोड्छ,’ सलिनमान सुनाउँछन्, ‘पहिलो सिनेमापछि यो क्षेत्रमा आउने मन थिएन, तर ‘यात्रा’ को कथाले मलाई यसरी तान्यो कि, रिजेक्ट गर्न नै सकिन ।’

सलिनलाई ‘ए मेरो हजुर २’ मा काम गर्दा केही गाह्रो पनि भएको थियो । किनकि उनका लागि यो पहिलो सिनेमा पनि थियो । अर्कातिर सिनेमाको शुटिङका लागि हिमाली भेगमा पनि जानुपर्ने थियो । सलिन भने काठमाडौं बाहिर खासै जाने गर्दैनथे । हाइकिङ पनि गएका थिएनन् ।

‘पहिलोपटक मुस्ताङ जानुपर्ने भयो, यसअघि हिँड्नमा त्यस्तो आदत थिएन, त्यही भएर पनि मलाई गाह्रो भयो ।’, सलिन मुस्कुराउँदै सुनाउँछन् ।

पहिलो सिनेमाका तुलनामा दोस्रो सिनेमामा काम गर्न भने  सहज भएको बताउँछन् सलिन ।  शूटिङको बेलामा रमाइलो भएको उनी अनुभव सुनाउँछन् । भन्छन्, ‘हामी शुटिङका लागि सोलुखुम्बु पुग्यौँ, त्यहाँ छुट्टै रमाइलो थियो, इन्टरनेट चल्दैनथ्यो, हामी एकआपसमा कुरा गरेर बस्थ्यौँ ।’

प्रकृतिसँग डुल्दै सिनेमाको शुटिङ गर्दा उस्तै रमाइलो भएको र समय निकै छिटो बितेजस्तो लागेको सलिन सुनाउँछन् । उनी यो टिमसँग काम गर्दा आफूलाई धेरै सहज भएको पनि सुनाउँछन् । ‘यो सिनेमामा काम गर्दा धेरै कुरा सिकिसकेको रहेछु, पहिलेभन्दा सजिलो भयो ।’, सलिन थप्छन् ।

चैत्र २९ गते नयाँ वर्षको पूर्वसाँझमा रिलिज हुने यो सिनेमाको चर्चा त छ नै । अर्कातिर यही मितिमा सिनेमा ‘ए मेरो हजुर ३’ पनि रिलिज हुने भएपछि दुई सिनेमालाई भिडन्तको रुपमा हेरिएको छ । तर सलिन भने यो मान्न तयार छैनन् । उनलाई लाग्छ, दुवै सिनेमा एकै मितिमा चल्दा खासै फरक पनि पर्दैन । दुई सिनेमामध्ये जुन दर्शकलाई राम्रो लाग्छ, त्यही चल्छ ।

सिनेमा ‘यात्रा’ को ट्रेलरमै म्युजिक, रोमान्स र एक्सन देखिन्छ । सलिनमान यो सिनेमामा सस्पेन्स पनि भएको खुलाउँछन् । उनलाई पहिलेदेखि नै एक्सन सिनेमाका काम गर्ने रहर थियो । त्यो रहर पनि यो सिनेमाले पूरा गरिदिएको छ । भन्छन्, ‘अहिलेलाई म यही सिनेमाकै काममा व्यस्त छु, एक्सन सिनेमा खेल्न मन थियो, त्यो पनि पूरा भयो, अर्को सिनेमा खेल्ने कि नखेल्ने भन्ने ‘यात्रा’ मा दर्शकले दिएको प्रतिक्रियाबाट सोचौँला ।’