दीलिपसँग सिनेमामा पनि काम गर्ने रहर छ : मरिष्का पोखरेल

दीलिपसँग सिनेमामा पनि काम गर्ने रहर छ : मरिष्का पोखरेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘के म तिम्रो होइन र’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् मरिष्का पोखरेल । उनले अभिनय गरेका सिनेमा एकपछि अर्को असफल भएका थिए । उनै मरिष्का पछिल्लो समय सिनेमा भन्दा पनि म्युजिक भिडियोमा व्यस्त छिन् । उनले पछिल्लो समय अभिनय गरेको दोहोरी गीत ‘सालको पात टपरी हुने’ निकै चर्चित बनेको छ । यही गीतको भिडियोले उनलाई निकै चर्चामा ल्याएको छ ।

गायक शंकरलाल श्रेष्ठको स्वर रहेको गीत ’माया त लाउने हो’को भिडियो आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । उक्त गीतमा मरिष्काले अभिनेता दीलिप रायमाझीसँग अनस्क्रिन रोमान्स गरेकी छन् । आफू २ कक्षामा अध्ययन गर्दा अभिनेता रायमाझीको सिनेमा ’जिन्दगानी दर्पण छाँया’ हेरेको स्मरण गर्दै उनले पहिलो पटक स्क्रिन सेयर गर्न पाउँदा एकदमै खुशी लागेको बताइन् । मरिष्का आफूलाई अभिनेता दीलिपको ठूलो फ्यान रहेको बताउँछिन् ।

आइतबार काठमाडौंमा आयोजीत गीत रिलिज कार्यक्रममा तपाईलाई दीलिपसँग सिनेमामा पनि काम गर्ने रहर छ ? पत्रकारले साधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्, ’राम्रो स्क्रिप्ट र राम्रो टिमबाट अफर आएको खण्डमा आफु दीलिप रायमाझीसँग काम गर्न तयार छु ।’ लगातार म्यूजिक भिडियो गरिरहेको भएता पनि आफू सिनेमाबाट भने टाढा नभएको मरिष्काको भनाई छ । सिनेमा नपाएर लगातार भिडियो गर्नुभएको त होइन ? भन्ने प्रश्नमा मरिष्काले अब केही समयको ग्यापमा मात्र सिनेमा गर्ने सोच रहेको बताइन् । उक्त गीत रिलिज कार्यक्रममा अभिनेता दीलिप रायमाझी भने अनुपस्थित थिए ।

आफ्नो मोडलिङ करिअरको सुरुवात गायक स्वरुप आचार्यको गीतको भिडियोबाट गरेकाका कारण आफू म्युजिक भिडियोबाट पनि टाढा रहन नसकेको बताउँछिन् । सिनेमा गरेपछि भिडियो गर्नै हुन्न भन्ने मान्यता आफूले नराख्ने उनको भनाई छ । ’मैले धेरै भिडियो पनि गरिरहेको छैन । राम्रो आयो भने मात्र गर्ने गरेको छु । तर, सिनेमाबाट अफर नआएर भिडियो गरेको भन्ने चाहिँ होइन । सिनेमामा पनि अफर आइरहेको हुन्छ । तर, अब केही समयको ग्यापमा मात्र सिनेमा गर्ने सोचमा छु’, मरिष्काले बताइन् ।