anmol jasita

गायक बन्ने सपनासँग जोडिएको अनमोलको ड्रिम प्रोजेक्ट ‘ए मेरो हजुर ३’

गायक बन्ने सपनासँग जोडिएको अनमोलको ड्रिम प्रोजेक्ट ‘ए मेरो हजुर ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टार अनमोल केसी नेपालमा फागुन १७ गते रिलिज भएको सिनेमा ‘क्याप्टेन’को विदेश प्रदर्शनीका क्रममा बेलायतमा छन् । नेपालमा भने अनमोलको शीर्ष भूमिका रहेको सिनेमा ‘ए मेरो हजुर ३’ चर्चा छ । आउँदो शुक्रबार अर्थात् चैत्र २९ गतेबाट नेपालभरका सिनेमा हलमा रिलिज हुने यो सिनेमाले गीत तथा ट्रेलरबाट दर्शकको राम्रो साथ पाएको छ । यो सिनेमालाई लिएर सिनेमा पण्डितहरुले ‘ए मेरो हजुर ३’ ले वर्षको अन्तमा दर्शकलाई हलसम्म तान्ने ठूलो भूमिका खेल्ने अनुमान लगाएका छन् ।

सिनेमामा अनमोलको भूमिका एक चर्चित गायकको छ, उनी सिनेमामा ‘प्रेम’ पात्रको भुमिकामा छन् । उनले यसअघि पनि निर्माता तथा अभिनेता भुवन केसीले निर्माण गरेको सिनेमा ‘साथी म तिम्रो’मा रकस्टारको भुमिकामा एक गीतमा देखिएका थिए । निकै कम दर्शकलाई मात्र थाहा हुनुपर्छ, सुपरस्टार अनमोल कुनै समय गायक बन्ने सपना बोकेर कक्षा ८ मा पढ्दै गर्दा साथीहरुसँग मिलेर ‘एनटीओ सेभेन’ नामक म्यूजिक ब्याण्डको स्थापना समेत गरेका थिए । उक्त ब्याण्डमा अनमोल गितारिष्ट र भोकलिष्टको रुपमा सक्रिय थिए । तर पछिल्लो समय अनमोल सिनेमामा व्यस्त भएपछि यो ब्याण्ड निस्कृयजस्तै छ । तर, अनमोलमा संगीतप्रतिको रुचि भने अझै उस्तै छ ।

अहिले पनि सिनेमा प्रचारका कार्यक्रम र मिडियामा अन्तर्वार्ता दिने क्रममा पनि अनमोलले आफ्ना सिनेमाका गीत गुनगुनाइरहेका हुन्छन् । अनमोल अहिले पनि प्रायः घरमा हुँदा होस् वा ट्राभल गर्दा नै किन नहोस् म्यूजिक सुनेरै विताउँछन् । उनी आफ्नो पहिलो प्रेम नै संगीत रहेको बताउँछन् । त्यसैले पनि अनमोलको म्युजिक प्यासनसँग जोडिएको सिनेमा ‘ए मेरो हजुर ३’ मा भने उनी नै केन्द्रमा छन् । सिनेमाले एक स्टार र फ्यानविचको प्रेमकथा बोल्छ ।

सिनेमामा प्रवेश गरेसँगै अनमोललाई म्यूजिकल लभस्टोरी सिनेमामा काम गर्ने ठूलो रहर थियो । तर, अनमो म्युजिकल लभस्टोरी सिनेमामा काम गर्ने रहर बल्ल पुरा भएको छ । अनमोलले अहिलेसम्म सात ओटा सिनेमामा काम गरिसकेका छन् । अनमोलले काम गरेका सात सिनेमा मध्ये चार सिनेमामा लभरव्याई को भुमिकामा देखिएका अनमोल त्यसपछिका दुई सिनेमा ‘कृ’ र ‘क्याप्टेन’मा एक्सन अवतार र खेलाडीको रुपमा देखिए ।

आफ्नो वर्षौदेखि मनमा गाँठो परेर बसेको इच्छा पूरा गर्ने अवसर पाएका कारण ‘ए मेरो हजुर ३’लाई अनमोल आफ्नो ड्रिम प्रोजेक्ट मान्छन् । यो सिनेमा अनमोलको इमोसनसँग जोडिएको छ । केहीदिन पहिले ‘ए मेरो हजुर ३’को प्रचार प्रसारका क्रममा उनले भने मलाई पहिलादेखि नै म्यूजिकल स्टोरी गर्ने ठूलो इच्छा थियो । म स्कूल लाइफमा हुँदा पनि पढाईभन्दा पनि म्यूजिकतिरै बढी ध्यान जान्थो । यस हिसाबले पनि यो सिनेमालाई मैले मेरो ड्रिम प्रोजेक्टको रुपमा लिएको छु । मैले देखाउन नपाएको म्यूजिकको ’स्किल्स’ हरु पनि यस सिनेमामा देखाउने अवसर पाएको छु ।’

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।