anmol jasita

भावनादेखि सुहानासम्म वर्ष २०७५ मा डेव्यु गरेका १० हिरोइनहरु !

भावनादेखि सुहानासम्म वर्ष २०७५ मा डेव्यु गरेका १० हिरोइनहरु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रमा ०७५ सालमा झन्डै साढे दुई दर्जनबढि युवतीले आफूलाई हिरोइनका रूपमा पेश गरेका छन् । केहीले अभिनयलाई करिअरकै रूपमा ग्रहण गर्न चाहेको देखिन्छ भने कतिपयका लागि ‘हिरोइन बन्ने रहर’ पूरा गरेको मात्रै बुझ्न गाह्रो पर्दैन । तर, पछिल्लो समय अभिनयलाई नै करियर मानेर भित्रने युवा, युवतीको जमान निकै ठुलो छ ।

०७५ सालको वैशाख ७ गतेबाट प्रदर्शनमा आएको पहिलो सिनेमा ‘स्वर्ग मेरो गाउँ’का साक्षी लम्साल, सुजाता थापा र भावना गुरुङलगायतका तीन अभिनेत्रीबाट सुरु भएको डेव्यु यात्रा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’की प्रमुख पात्र सुहाना थापा र मलिका महतमा गएर टुङ्गीएको छ । अहिलेसम्मको सिनेमाको अवस्था हेर्दा आगामी वर्ष पनि थुप्रै नयाँ अभिनेत्री भित्रिनेमा दुई मत छैन् । यो वर्ष डेव्यु गरेका अधिकांस नयाँ अनुहारई नयाँ सिनेमामा दर्शकले हेर्न पाएका छैनन् ।

यो वर्षको अन्त्य अर्थात् २९ चैतमा प्रदर्शन हुने दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ रिलिज बीचका हिरोइनमध्ये केही मात्र सिनेमा अभिनयमै देखिएका छन् । तर, वर्ष ०७५ मा सिनेमामा डेव्यु गरेका अधिकांश हिरोइन भने पुनः पर्दामा आउने तयारीमा रहेको पाइँदैन । अभिनय, प्रस्तुति, चर्चा र निरन्तरताका आधारमा यो वर्ष डेब्यु गरेका आसलाग्दा १० हिरोइन निम्नअनुसार छन् :-

१) सुहाना थापा : अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापा यो वर्षको अन्त्यमा ए मेरो हजुर ३ मार्फत नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछिन् । यो सिनेमामा सुहानाको जोडी सुपरस्टार अभिनेता अनमोल केसीसँग बाधिएको छ । सिनेमाको सार्वजनिक गीतसंगीत र ट्रेलरले दर्शकमाझ उनलाई सम्भावना बोकेकी अभिनेत्रीको शिर्ष स्थानमा उभ्याएको छ । सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

२) उपासना सिंह ठकुरी : सुपरस्टार अनमोल केसी होम प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘क्याप्टेन’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई पनि सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको छ । उनको डेव्यु सिनेमा ‘क्याप्टेन’ रिलिजको केही दिनमा नै उपासनाले रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘कबड्डी ३’ साइन गरेकाको चर्चा चलेको थियो । उपासनाको बारेमा बन्ने सामग्रीहरुले पनि सामाजिक सञ्जालमा राम्रै चर्चा पाउने गरेका छन् ।

३) मलिका महत : डेव्यु सिनेमा ए मेरो हजुर २ बाटै स्टार कलाकारको रुपमा उदाएका सलिनमान बनियासँग स्त्रिन सेयर गरेकी अभिनेत्री मलिका महतको चर्चा पनि पछिल्लो समय निकै भैरहेको छ । डेव्यु सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लग’बाट सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेर्न थालिएको छ । उनले अभिनय गरेको सिनेमा यात्राको गीतसंगीत र ट्रेलरबाट मलिकाको कामको चर्चा राम्रै भैरहेकोछ । यात्रामा सलिनमान र मलिकाको अलवा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेकोछ ।

४) प्रियंका एमभि : सुपरस्टार अनमोल केसी अभिनित सिनेमा ‘क्याप्टेन’बाटै नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी अर्की अभिनेत्री हुन् प्रिंयका एमभि । अनमोलसँग सिनेमामा काम गरेकै कारण पनि प्रियंकाको चर्चा भएको मान्ने गरिन्छ । ‘क्याप्टेन’ रिलिज पश्चात डेव्यु गर्ल प्रिंयका र उपासनाको अभिनयको चर्चा राम्रै भएको थियो । यसैले पनि प्रिंयकालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको थियो । अभिनेता अनमोल केसीसँग सिनेमा खेल्ने सवै अभिनेत्री हिट हुन्छन्, भन्ने छैन् । तर, अनमोलसँग सिनेमामा काम गरेकै कारण केही हदसम्म फाइदा भने पक्कै हुन्छ् ।

५) शिल्पा मास्के : हलिउड सिनेमा ‘डक्टर स्ट्रन्ज’मा सानो भूमिकामा देखिएकी शिल्पा मास्केको डेब्यु नेपाली सिनेमा ‘द ब्रेकअप’ हो । यो गत फागुन १७ गतेबाट अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘क्याप्टेन’सँग प्रदर्शन आएको थियो । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी शिल्पा अभिनित दोस्रो सिनेमा ‘कागजपत्र’ चैत ८ गतेबाट दर्शकमाझ आएको थियो । तर, बिडम्बना उनी अभिनित दुवै सिनेमा बक्सअफिसमा असफल भए । हाल शिल्पा ‘सानो मन’ नामक सिनेमाको छायांकनमा व्यस्त छिन् । उनले अभिनय गरेका दुई सिनेमा असफल हुँदा पनि राम्रो अभिनयका कारण शिरुल्पालाई सम्भावना बोकेही अभिनेत्रीको रुपमा हेरिएको छ ।

६) निरिशा बस्नेत : बसन्त अधिकारीको डेव्यु निर्देशकिय सिनेमा ‘जानी नजानी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेकी हुन् । निरिशा पुराना कलाकार विश्व बस्नेतकी छोरी हुन् । उनी नेपाली सिनेमासँगै बलिउडमा पनि सक्रिय छिन् । डेव्यु सिनेमा जानी नजानीमा उनको अपोजिटमा नेपाली सिनेमाका ठुल्दाई शिव श्रेष्ठका भतिजा मनिष श्रेष्ठ छन् । यो सिनेमाले नेपाली बक्सअफिसमा राम्रो कारोबार नगरेता पनि निरिशालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको छ ।

७) सुपुष्पा भट्ट : माघ १७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘रणवीर’ रिलिज ताका डेव्यु गर्ल सुपुष्पा भट्टको चर्चा परिचर्चा पनि निकै भयो । उनलाई सम्भावना बोकेकी अभिनेत्रीको लिष्टको अग्रस्थानमा राखियो । अहिले पनि उनको चर्चा राम्रै भैरहेको छ । डेव्यु सिनेमा ‘रणवीर’ अफसल भएपश्चात उनले नयाँ सिनेमा साइन गरेको सुनिएको छैन् । तर, उनले सिनेमामा काम नगरेता पनि अभिनेता अनमोल केसीसँग स्प्राइट ब्राण्डको एक विज्ञापनमा भने काम गरेकीछन् ।

८) सुवेक्षा खड्का : रणवीरबाटै डेव्यु गरेकी अर्की अभिनेत्री हुन् सुवेक्षा खड्का । उनले रमेश उप्रेतीको सिनेमामा ऐश्वर्य छोडेर रणवीरबाट धमकेदार डेव्यु गर्ने सपना अधुरै रहेको छ । यधपी उनको सुन्दरता र अभिनयका कारण आगामी दिनमा राम्रो सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिएको छ । सुवेक्षा अहिले ‘नेपाल लोक स्टार’ नामक रियालिटी शोमा होस्टको रुपमा कार्यरत छिन् । सुवेक्षा मिस नेपाल जस्तो ठुलो ब्युटीप्याजेन्टबाट सिनेमा क्षेत्रमा भित्रिएकी हुन् ।

९) आश्मा गिरी : ऋषिराज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमा ‘ड्रिम गर्ल’बाट नेपाली सिनेमामा डेव्यु गरेकी अभिनेत्री हुन् आश्मा गिरी । यो सिनेमा रिलिजको बेलाको उनको चर्चा पनि राम्रै भएको थियो । तर, ‘ड्रिम गर्ल’ बक्सअफिसमा असफल भएसँगै उनको चर्चा पनि सेलाएको छ । अहिले आश्मा सिनेमा भन्दापनि म्युजिक भिडियो तिर नै व्यस्त छिन् । सिनेमामा डेव्यु गर्नु भन्दा पहिले आश्माले केही म्युजिक भिडियो र वेव सिरिजमा काम गरेकी थिइन् ।

१०) रेवती क्षेत्री : नेपालमा सर्वाधिक सफल उपन्यास ‘समर लभ’माथी निर्माण भएको सिनेमाबाट डेव्यु गरेकी अभिनेत्री हुन् रेवती क्षेत्री । मुस्कान ढकालको निर्देशनमा तयार भएको सिनेमा ‘समर लभ’ रिलिजको बेला रेवतीको हाइट र अभिनयको चर्चा राम्रै भयो । तर, सिनेमाले बक्सअफिसमा राम्रो ब्यापार गर्न नसक्दा रेवती अहिले गुमनाम छिन् । भारतमा बसोबास गर्ने रेवतीले नेपाली सिनेमामा डेव्यु गर्नु भन्दा पहिले केही बलिउड सिनेमामा समेत काम गरेकी थिइन् ।

यी बाहेक यो बर्ष सिनेमा ‘मालिका’बाट कमला वली, ‘गरुड पुराण’बाट प्रियंका सिंह ठकुरी, ‘सय कडा दश’बाट करुणा श्रेष्ठ, अनुरागबाट एलिजा गौतम, शुभलभबाट कृष्टिन पौडेल, हैरानबाट आरोही शर्मा, कहिँ कतैबाट शिवानी गिरी, छिरिङ्गबाट कामना भुजेलको प्रवेश भयो । तर, यी नायिकाहरु पनि खासै चल्न सकेनन् । यो बर्ष नेपाली सिनेमा क्षेत्रमा करिब २ दर्जन नायिकाको आगमन भएको छ । सिनेमा क्षेत्रमा प्रवेश गर्नु मात्रै ठूलो कुरा होइन । तर, सिनेमामा लामो यात्रा गर्नु विशेष कुरा हो । त्यसैले यो बर्ष भित्रिएका अधिकांश नयाँ अनुहारहरु असफल भएका छन् ।