बक्सअफिस रिपोर्ट : चार दिनमा ‘ए मेरो हजुर ३’ले कमायो ४ करोड १ लाख

बक्सअफिस रिपोर्ट : चार दिनमा ‘ए मेरो हजुर ३’ले कमायो ४ करोड १ लाख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गएको शुक्रबारबाट हलमा प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ३’ले अहिले हलमा बम्पर व्यापार गरिरहेको छ । मंगलबार ‘ए मेरो हजुर ३’को चार दिने रिपोर्ट सार्वजनिक गरिएको छ । तर, वितरक मनोज राठीका अनुसार ‘ए मेरो हजुर ३’को विकेण्ड कलेक्सन ३ करोड ३९ लाख रहेको छ । भने, सिनेमाले सोमबार मात्रै ६२ लाखको कारोबार गरेको छ । यही सिनेमाबाट अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाले धमकेदार इन्ट्री गरेकी छन् । वर्ष २०७५ मा प्रदर्शनमा आएका सिनेमाले राम्रो व्यापार नगरेर निराश भएका सिनेमाकर्मीको अनुहारमा ‘ए मेरो हजुर ३’को व्यापारले खुशी ल्याएका छ ।

‘ए मेरो हजुर ३’को व्यापारले सिनेमा क्षेत्रमा उत्साह मात्र थपेको छैन, चहलपहल पनि बढेको छ । हलमा दर्शकलाई आकर्षित गर्न सकेको खण्डमा लगानी उठ्ने मात्र होइन नाफा पनि राम्रै कमाउन सकिन्छ भन्ने सोच फेरि निर्माता तथा निर्देशकमा पलाउन थालेको छ । हुनत, ‘ए मेरो हजुर ३’ले बम्पर कारोबार गर्दै गर्दा अन्य निर्माता मख्ख पर्न भन्दा पनि राम्रो सिनेमा निर्माण गर्न तिर अग्रसर हुन आवश्यक रहेको सिनेमाकर्मीको बुझाई छ ।

सिनेमाले शुक्रबार, शनिबार र आइबार मात्रै नभई, सोमबार र मंगलबार पनि व्यापारमा कमी आएको छैन । यसकारणले पनि ए मेरो हजुर ३ लामो रेशको घोडा बन्नेमा निर्माता सुनिल कुमार थापा विश्वस्त छन् । शुक्रबार नै बम्पर ओपनिङ गरेको सिनेमाको व्यापार शनिबार र आइतबार आक्रामक थियो । बिदाका कारण इनिसियल व्यापार भएपनि सोमबारबाट कम हुने धेरैको अनुमान थियो । तर, सोमबार र मंगलबार पनि सिनेमाले आफ्नो व्यापारिक रफ्तारलाई कायम गरेपछि निर्देशक तथा अभिनेत्री झरना थापाको मुहारमा खुशी छाएको छ ।

स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । ए मेरो हजुर ३ मा अनमोल केसीको डबल रोल रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।