द सिनेमा टाइम्स, काठमाडौं– झरना थापाले लामो समय नायिकाका रुपमा स्थापित गरिन् आफूलाई । उनी अहिले नायिकाबाट निर्देशक भइसकेकी छिन् तर दर्शकले झरनाको अभिनयलाई अझै भुलेका छैनन् । बरु अहिले झरनाले नायिकाबाट निर्देशकको परिचय बनाउँदा उनले छोरी सुहाना थापालाई डेब्यु गराएकी छिन् सिनेमामा । यतिबेला सिनेमा बजारमा झरनाको निर्देशकीय कौशलता र सुहानाको अभिनयको तारिफ भइरहेको छ । पहिलो सिनेमा ‘ए मेरो हजुर ३’ बाट सुहानाले पाएको प्रतिक्रियाले उनलाई मख्ख बनाइदिएको छ ।
यता दोस्रो निर्देशनमा आइपुग्दा अभिनेत्री झरना थापा पनि मख्ख छिन् । उनी भन्छिन्, ‘सिनेमा चल्यो, बल्ल अब अर्को सिनेमा बनाउन सकिन्छ ।’ झरनाले निर्देशन गरेको पहिलो सिनेमा ‘ए मेरो हजुर २’ पनि उत्तिकै रुचाएका थिए दर्शकले । उनले निर्देशन गरेको दोस्रो सिनेमा ‘ए मेरो हजुर ३’ मा पनि झरनाको निर्देशकीय क्षमतालाई दर्शकले पूर्ण विश्वास गरे ।
त्यसो त झरना थापा र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको सिनेमा ‘ए मेरो हजुर’ पनि सुपरहिट सिनेमाको सूचीमा पर्छ । झरना सुनाउँछिन्, ‘त्यो सिनेमामा म छायांकन हुन तीन दिन बाँकी हुँदा मलाई अभिनयको अफर आएको थियो । यो सिनेमामा पनि अन्तिम समयमा आएर सुहानालाई अफर गरेँ ।’ झरनालाई विश्वास थियो कि, सुहानाले पक्कै अभिनय गर्न सक्छिन् ।
झरनाले आफ्नै छोरीको परीक्षा पनि लिएकी थिइन् । ‘मैले सिनेमामा लिनुभन्दा पहिले उसलाई अभिनय गर्न त लगाएँ तर मलाई उसले अभिनय गर्न सक्छे भन्नेमा पूरै विश्वास थियो ।’, झरना सुनाउँछिन् । यता सुहाना पनि आफूप्रतिको विश्वासले अझ मख्ख थिइन् । आमाको क्रेजले नै सुहानालाई यो क्षेत्रमा आउन कर गरिरहेको थियो ।
सुहाना सुनाउँछिन्, ‘घरीघरी मामुले पनि मलाई सिनेमा खेल्नुपर्छ भनेर भनिरहनुहुन्थ्यो ।’ सिनेमा गजब चल्यो । ‘ए मेरो हजुर ३’ मा सुहानाको कामलाई दर्शक र सिनेकर्मी दुवैले मन पराए । सुहानालाई आफूले राम्रो काम गरेकी छु भन्ने त लागेको थियो तर यति धेरै माया पाउँछु भन्ने लागेको थिएन । पहिलो सिनेमाले नै उनलाई चर्चामा ल्याइदियो उनलाई ।
‘मैले काममा विश्वास गरेकी थिएँ, तर धेरै आशा गरेकी थिइन, धेरै आशा ग¥यो भने निराश भइन्छ भन्नेमा म विश्वास गर्छु, अहिले पाइरहेको प्रतिक्रियाले म निकै खुशी छु, अझै राम्रो काम गर्ने जिम्मेवारी थपिएको छ ।’, सुहाना सुनाउँछिन् ।
झरना निर्देशनमा र सुहाना अभिनयमा जम्दै गर्दा दर्शकलाई भने झरना र सुहाना दुवैले एकसाथ अभिनय गरेको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । दर्शकलाई यो अवसर भविष्यमा पक्कै जुट्नेछ ।
अहिले हलमा रिलिज भइरहेका जति पनि सिनेमा छन्, ती सबै सिनेमामध्ये सबैभन्दा धेरै दर्शक पाएको सिनेमा ‘ए मेरो हजुर ३’ हो । यो सिनेमामा अनमोल केसीको जोडी डेब्यु नायिका सुहाना थापासँग छन् । यी दुईको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ले बम्पर सुरुवात गरेको थियो । प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको सिनेमा ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन ।
प्रतिक्रिया