‘जात्रै जात्रा’मा खुल्नेछ, हराएको २ करोड ८० लाखको रहस्य

‘जात्रै जात्रा’मा खुल्नेछ, हराएको २ करोड ८० लाखको रहस्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – करिब २ वर्ष अगाडीको सुपरहिट सिनेमा ‘जात्रा’को सिक्वेल अब प्रदर्शनको केहि दिन मात्र पर छ । विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ र दयाहाङ राई अभिनित सिनेमाले बक्सअफिसमा प्रिक्वेलकै जस्तो व्यापार गर्ने अनुमान गरिएको छ ।

‘जात्रा’बाट निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’ जस्तो ब्लकबस्टर सिनेमा पनि निर्देशन गरिसकेका छन् । त्यसैले उनमा सबैभन्दा ठुलो आशा टिकेको छ । ‘जात्रा’मा जस्तै यसपटक पनि फणिन्द्र, जोयस र मुन्नाले यसपटक दर्शकलाई १० किलो सुनको ‘जात्रै जात्रा’ देखाउने छन् ।

अघिल्लो श्रृंखलाको अन्तिममा प्रहरीलाई बुझाएको ३ करोड रकम मध्ये २० लाख मात्र सक्कली भेटिएको थियो । भनेपछि २ करोड ८० लाख रकम कसले लुकायो त ? दर्शक माँझ यो जिज्ञासा बनेर बसेको छ । ‘अब त्यो जेठ ३ गते खुल्नेछ’ निर्देशक भट्टराईले सिनेमाको कथाबस्तु बारे जानकारी दिए ।

‘त्यो २ करोड ८० लाख कसले लुकायो या चोर्यो भन्ने कुरा ‘जात्रै जात्रा’मा खुल्नेछ । यहिँ जिज्ञासा मेटाउनुका साथै सिनेमाले १० किलो सुनको जात्रा पस्किने छ ।’ निर्देशकले अगाडी भने ‘जिज्ञासा मेटाउनकै लागि ‘जात्रै जात्रा’ बनाउने जमर्को गर्यौँ । तर, त्यतिले मात्र दर्शकलाई नपुग्ने जस्तो देखेपछि नयाँ ट्वीस्टसहित सुनको कथा पस्केका छौँ ।’

सिनेमामा वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राणा, अंशु महर्जन, कृष्णभक्त महर्जनलगायतका कलाकारको पनि अभिनय छ ।