‘चलचित्र पत्रकारिता दिवस’मा पाँच पत्रकार सम्मानित र पुरस्कृत

‘चलचित्र पत्रकारिता दिवस’मा पाँच पत्रकार सम्मानित र पुरस्कृत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ ७ गते मंगलबार चलचित्र पत्रकार संघ, नेपालले आफ्नो २० औं वार्षिक उत्सव तथा ‘चलचित्र पत्रकारिता दिवस २०७६’ एक भव्य कार्यक्रमका वीच मनाएको छ । यस्तै चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले पाँच सिनेमा पत्रकारलाई सम्मान तथा पुरस्कार गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच नरेश भट्टराई र श्याम स्मृतलाई ’चलचित्र पत्रकारिता सम्मान २०७६’ र कुवेर गिरी र शारदा थापालाई ’चलचित्र पत्रकारिता पुरस्कार २०७६’ प्रदान गर्यो । भने, फोटो पत्रकार बिनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७६ प्रदान गरियो ।

पुरस्कृत गिरी र थापालाई २१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । भने, मेरो फिल्म डटकममा कार्यरत फोटो पत्रकार पोखरेललाई एक थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिएको थियो । आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस यस वर्ष पनि भव्य रुपमा मनाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मानित तथा पुरस्कृत पाँच जना सिनेमा पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । संघको वार्षिक उत्सवमा बोल्दै मन्त्री बाँस्कोटाले चलचित्र पत्रकारको हकहितमा काम गर्न राज्य सधैं तयार रहेको बताए । बास्कोटाले अगाडी भने – ’आफ्नो ठाउँमा सम्पुर्ण क्षेत्र राम्रो बनेमात्र देशको विकास हुन्छ । चलचित्र पत्रकारिताको क्षेत्रमा सरकारले गर्न सक्ने सम्पुर्ण सहयोग सरकार तयार रहेको उनले सुनाए ।’

यस्तै चलचित्र पत्रकारिता दिवस कार्यक्रममा संघका पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्देश समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपक राज गिरी, निर्माता संद्धका उपाध्यक्ष माधव वाग्ले, सदावहार अभिनेता भुवन केसी, अभिनेत्री तथा नेत्री करिष्मा मानन्धरलगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले नेपाली सिनेमाको विकासमा सिने पत्रकारको योगदानको चर्चा गर्दै संघ सधै पत्रकारहरुको हकहितका लागि लड्न तयार रहेको बताए । चलचित्र पत्रकार संघको वार्षिक उत्सवमा करिश्मा मानन्धर, भुवन केसी, दीपकराज गिरी, केदार घिमिरे, नीता ढुंगाना, रमेश उप्रेती, बेनिशा हमाल, केकी अधिकारी, रिमा विश्वकर्मा, बाल कलाकार अनुभव रेग्मी, निर्माता माधव वाग्ले लगायतका सिनेमाकर्मी र सिनेमा पत्रकारको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।