द सिनेमा टाइम्स, काठमाडौं – ‘लेटर’बाट नेपाली सिनेमा क्षेत्रमा निर्देशकको रुपमा डेव्यु गरेका निर्देशक हुन् साम्तेन भुटिया । उनले पहिलो सिनेमाबाट नै दर्शक माँझ नोटिस भएका थिए । उनै साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो सिनेमा हो ’च च हुई’ । यो सिनेमाको छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ सिनेमा निर्माण टिम प्रस्थान गरेको थियो । तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल सिनेमा निर्देशन गरिरहेका छन् ।
हरेक सिनेमामा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको सिनेमा निर्देशन गरिरहेको आरोप उनलाई लाग्ने गरेको थियो । त्यसैले पनि उनले यसपटक भिन्न किसिमको कथामा सिनेमा निर्माण तथा निर्देशन गरिरहेका छन् । हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा सिनेमाको छायाँकन भइरहेको छ ।
सिनेमाको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया, निर्माता अमृत घोले लामा लगायत हङकङ पुगेका छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायतको अभिनय रहेको सिनेमाको नेपालको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला विदेश छायाँकनको लागी निर्माण टिम हङकङ पुगेको हो ।
त्यसपछि नेपाल आएर सिनेमाको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित कमेडी जनरको यो सिनेमाको पटकथा तथा संवाद सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । ‘यसपटक कमर्सियल सिनेमा निर्माणको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘सिनेमा मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’ सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।


प्रतिक्रिया