सिन्धुलीबाट सुरु गरियो ‘छ माया छपक्कै’को छायाँकन

सिन्धुलीबाट सुरु गरियो ‘छ माया छपक्कै’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता रोहित अधिकारीले दीपक-दीपासँग मिलेर निर्माण गर्न लागेको सिनेमा ‘छ माया छपक्कै’को विहिबारबाट छायाँकन सुरु गरिएको छ । यो सिनेमाको सिन्धुलीबाट छायाँकन सुरु गरिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् । आगामी दशैँको अवसरमा रिलिज हुने सिनेमा निर्देशक लामाको तेस्रो निर्देशकिय सिनेमा हो ।

यो सिनेमामा ‘गाजलु’ निर्माता रोहित अधिकारीको एकल लगानी रहने छ । भने, सिनेमा रिलिज पश्चात नाफाको ५० प्रतिसत दीपक दीपाको टिमले पाउने छ । यदी सिनेमा असफल भएको खण्डमा आफ्नो टिमले निर्माता अधिकारीबाट एक पैसा पनि पारिश्रमिक नलिने केहीदिन पहिले राजधानीमा आयोजीत सिनेमाको घोषणा कार्यक्रममा निर्माता तथा अभिनेता गिरीले बताएका थिए ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको सिनेमामा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको सिनेमालाई हरि हुमागाइँले छायाँकन गरिरहेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाका गीतमा संगीतकार दीपक शर्माले संगीत भर्नेछन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमालाई विपिन मल्लले सम्पादन गर्नेछन् । निर्देशक लामाको कथा रहेको सिनेमाको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले सहयोग गरेकाका छन् । जितु नेपाल र केदार केदार घिमिरे सिनेमाका कार्यकारी निर्माता हुन् ।