टिका र जमरा लगाउँदै सुरु गरियो ‘रातो टिका निधारमा’को छायाँकन

टिका र जमरा लगाउँदै सुरु गरियो ‘रातो टिका निधारमा’को छायाँकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अशोक शर्माको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रातो टिका निधारमा’को छायाँकन शुक्रबार झापाबाट सुरु गरिएको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर सिनेमाको गीतको छायांकन धमाधम भइरहेको निर्देशक अशोक शर्माले बताए । उक्त गीतमा सिनेमाका मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता अंकित शर्मालाई गीतमा विषेश स्थान दिइएको छ । सिनेमा आगामी दशैँको अवसरमा रिलिज हुनेछ ।

अशोक शर्माले एक दशक अघि निर्माण तथा निर्देशन गरेको सुपरहिट सिनेमा ‘अल्लारे’मा समावेश सुपरहिट गीत ‘रातो टिका निधारमा’ बाट सिनेमाको नाम सापटी लिइएको हो । उक्त हिट गीतमा महानायक राजेश हमाल र सदाबहार अभिनेत्री करिश्मा मानन्धरले नृत्य गरेका थिए । यही गीतलाई रिमेक गरेर सिनेमा ‘रातो टिका निधारमा’मा समावेश गरिएको छ । सिनेमाको यो शिर्ष गीतमा ठूलो लगानी भएको निर्देशक शर्माले जानकारी दिए ।निर्देशक शर्माले छोरा अंकितलाई यही सिनेमाबाट नेपाली सिनेमा क्षेत्रमा डेब्यू गराउँदै छन् । सिनेमामा अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक गाउँले भूमिका निर्वाह गर्दैछिन् । यस्तै, निर्देशक शर्माले गीतको छायांकनका लागि तयार गरिएको सेट र कलाकारहरुको लुक्स शनिबार सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् । प्राप्त तश्बिरमा अंकित र साम्राज्ञीलाई टिपिकल नेपाली पहिरनमा देख्न सकिन्छ । भने, निधारमा रातो टिका र कपालमा जमरा लगाएका छन् ।छायांकन भइरहेको सिनेमाको शिर्ष गीतमा अन्य कलाकारहरु नीता ढुंगाना, खुश्बु खड्का, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतलाई पनि उक्त गीतमा देख्न पाइनेछ । यो गीतलाई अहिलेका चर्चित तथा डिमान्डेड सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले छायाँकन गरिरहेका छन् । निर्देशक शर्माले शिर्ष गीतलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरेको सुनाए ।निर्देशक शर्मालाई मुख्य सहायक निर्देशकको रुपमा रहेर छोरी कृति शर्माले निर्देशनमा सघाउने छिन् । सिनेमामा समावेश यो गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । सिनेमाको गीतका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र बि मल्लले शब्द रचना गरेका छन् । सिनेमाका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले स्वर दिएका छन् । बसन्त श्रेष्ठले कोरियोग्राफी गरिरहेको उक्त गीतलाई मित्र देव गुरुङले सम्पादन गर्नेछन् ।