एनएफडिसीको २७ रोपनी जग्गाको बिषयमा अब म बोल्छु : करिष्मा मानन्धर

एनएफडिसीको २७ रोपनी जग्गाको बिषयमा अब म बोल्छु : करिष्मा मानन्धर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सदाबहार अभिनेत्री करिष्मा मानन्धरले केहीदिन पहिले डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि अब आफू ताली पिट्नका लागि मात्र राजनीति नगर्ने भन्दै पार्टीबाट अलग भएको घोषणा गरिन् । राजनीतिमा सक्रिय रहँदा कुनै पनि विषयमाथि खासै आवाज उठाउने नगरेकी करिष्माले राजनीतिबाट विश्राम लिएसँगै सामाजिक सञ्जालमार्फत् आफ्नो विचार अभिव्यक्त गर्न थालेकी छन् ।

केही दिन अगाडि उनले फेसबुकमा एक स्टाटस लेखेकी थिइन्, ‘अब म बोल्छु ।’ यसको केहीदिनमै करिष्माले बालाजुमा रहेको एनएफडीसीको जग्गाबारे चासो राखेकी छन् । सरकारले बजेट भाषणको क्रममा देशभर हडपिएका सरकारी जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेसँगै उनले फेसबुकमा स्टाटस लेख्दै एनएफडीसीको सरकारी जग्गा बेचबिखन भएको सुन्दा आफू अचम्मित भएको र तत्काल छानबिनको माग समेत गरेकी छन् ।

करिष्माले फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसी, जुन सिनेमा क्षेत्रको विकास प्रवद्र्धनको लागि उपलब्ध गरिएको थियो, जहाँ नेपाली सिनेमाले आफ्नो शैशव काल बिताउँदै आजको यात्रासम्म आइपुगेको छ । पर्दामा देखिने कलाकारदेखि यूनिटलाई चिया बाँड्ने स्पोर्ट बोइसम्मको दिन रात त्यही वित्थ्यो । हरेक सिनेमाकर्मीले आफ्नो घर जस्तो महशुश गर्ने ठाउँ थियो ।’

एनएफडीसीको नाममा रहेको २७ रोपनी जग्गा अहिले खुम्चिएर ६.७५ रोपनीमा आइपुगेको छ । तर, यसबारेमा कसैले आवाज उठाएका छैनन् । विकास बोर्ड पनि यस विषयमा जानकार छ । तर, कुनै कदम चाल्न सकेको छैन । अभिनेत्री मानन्धरले सरकारी जग्गाप्रति कसैको चासो नगएकोमा गुनासो पोख्दै लेखेकी छन्, ‘आश्चर्य त के लाग्छ भने सारा सञ्चारकर्मी र सिनेमाकर्मीलाई थाहा हुँदाहुँदै पनि कोही चुक्क बोल्नुहुन्न । यीनले जे गर्लान्, म बोल्छु ।’उनले जग्गाप्रति चासो व्यक्त गर्दै फेसबुकमा अगाडि लेखेकी छन्, ‘२७ रोपनीको त्यो जग्गा, जहाँ भवन, स्टूडियो, उपकरणहरु सबै थिए । पुराना नेपाली सिनेमाका नेगेटिभहरु त्यही छन्, जुन नेपाली सिनेमाको इतिहास हो । तत्कालिन लिज होल्डर डीबी थापाले उद्धव पौडेललाई लिजमा बेच्नुभयो । त्यसपछि न त्यो ठाउँको संरक्षण भयो, न सिनेमाका काम जसरी हुन्थ्यो त्यो नै भयो ।’

सरकारले यस वर्षको बजेटमा काठमाडौंमा स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ, जसका लागि पर्याप्य जग्गाको खाँचो पर्छ । यस्तै, केही दिनअघि एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा सुचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि बालाजुमा रहेको एनएफडीसीको सरकारी जग्गाबारे चासो राखेका थिए । उनले उक्त जग्गा खोज्न विकास बोर्डलाई निर्देशन समेत दिएका छन् । त्यहाँ अत्याधुनिक सिनेमा स्टुडियो बनाउने सरकारको तयारी रहेको मन्त्री बास्कोटाले बताएका थिए ।