सञ्चारमन्त्री बास्कोटाले गरे उपत्यका बाहिर ‘बक्सअफिस सिस्टम’को उद्घाटन

सञ्चारमन्त्री बास्कोटाले गरे उपत्यका बाहिर ‘बक्सअफिस सिस्टम’को उद्घाटन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार मोफसलमा सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थीतमा बक्सअफिस सिस्टमको उद्धाटन गरिएको छ । शनिवार सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा आयोजीत एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम) को उद्घाटन गरेका हुन् । उनले असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ सिस्टम लागू हुने बताएका छन् ।

बक्सअफिस सिस्टमको उद्धाटन कार्यक्रममा विकास बोर्डका अध्यक्ष केशव भट्टराई, बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद सखी, बोर्ड सदस्य नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँगै रंग पत्रकार तथा स्थानिय जन प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले असार मसान्तसम्ममा सबैतिर इ-टिकेटिङ सिस्टम लागू हुनेमा विश्वास व्यक्त गरे ।मन्त्री बाँस्कोटाले कार्यक्रममा आफ्नो भनाई राख्दै भने ’प्रत्येक व्यवसाय पारदर्शी हुनुपर्छ । व्यावसायिक शुद्धताले राज्य र पेशालाई मर्यादित बनाउँछ । नागरिकले हल-हलमा पुगेर टिकट लिने तर कागजको खोस्टामा हिसाब राख्ने, यो डरलाग्दो सामाजिक भष्ट्राचार हो । यसलाई हटाउन पछिल्ला प्रविधिलाई प्रयोग गर्दै पारदर्शी बनाउन लागेका हौं ।’ उनले नयाँ कुरा लागू गर्न निकै गाह्रो हुने पनि अनुभव सुनाए ।

यस्तै, मन्त्री बास्कोटाले अगाडी भने ’हामीले प्रविधिलाई आत्मसात् गर्न अत्यन्त आवश्यक छ । दर्शकलाई उत्कृष्ट सेवा दिनका लागि पनि प्रविधिलाई आत्मसात् गर्नुपर्छ ।’ ’देशको विकास भयो भने मात्र सबै क्षेत्रको विकास हुन्छ । त्यसैले हरेक क्षेत्रको हिसाब पारदर्शी हुनुपर्छ । हरेक क्षेत्रले सरकारलाई ट्याक्स तिर्नु आजको आवश्कता अन्तर्गत पर्छ । साथै, कुनै पनि संस्थाले ट्याक्स तिरेपछि त्यो संस्थालाई सरकारले त्यही अनुसार सुविधा दिनुपर्छ र दिन्छ पनि ।’ त्यसैले सम्पुर्ण सिनेमाकर्मीलाई देश र सरकार प्रति इमान्दार हुन मन्त्री बास्कोटाले आग्रह गरे ।उनले भने – ‘हल नै चल्न छाडेको खण्डमा सरकारले हेर्ने पनि बक्सअफिस सिस्टम उद्धाटन कार्यक्रममा जानकारी गाराए । उनी भन्छन्, ’बक्सअफिस भष्ट्राचार माथिको सशक्त प्रहार हो । फागुनमा नै लागू हुनु पर्ने बक्सअफिस २ महिना ढिला भयो । अब कुनै हालतमा लागू हुन्छ । बक्सअफिस लागू गर्नका लागि सम्पूर्ण हल सञ्चालकलाई मानसिक रुपमा तयार हुन आवश्यक छ ।’

यदी कुनैपनि हल सञ्चालकले बक्सअफिस लागू गर्न नमाने कारवाहीको भागीदार हुनु पर्ने भनाई मन्त्री बास्कोटाको छ । ’यो चुनौती होइन, हल सञ्चालकहरुलाई अनुरोध हो । नेपाल सरकारको नियमलाई अटेर गर्नुहुन्छ, भने सरकार पनि चुप लागेर बस्दैन ।’ यस्तै मन्त्री बाँस्कोटाले काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न सिनेमा स्टुडियो यही वर्ष निर्माण हुने पनि बताए । ’छायांकनका लागि नेपाल भन्ने कार्यक्रम पनि अगाडि बढ्छ । नेपाल सरकार सिनेमा क्षेत्रको विकास चाहन्छ ।’यस्तै बक्सअफिस सिस्टमको उद्धाटन कार्यक्रमा पुगेका विकास बोर्ड अध्यक्ष केशब भट्टराईले भने ’यदी साउन १ गतेभित्र हल सञ्चालकले इ-टिकेटिङ लागू नगरे कारवाही सुरु गर्छौं । हामी सकेसम्म कारवाही नगर्ने सोचमा छौं । यो कुरा साँचो होकी हामी अटेर गर्नेलाई छाड्दैनौं ।’ बोर्डले देशभरका ८० हललाई निःशुल्क रुपमा कम्प्युटर, प्रिन्टर, इन्टरनेट राउटरलगायत आवश्यक उपकरण उपलब्ध गराउनुको मुख्य उद्देश्य इ-टिकेटिङमार्फत टिकट जारी गर्नु रहेको बोर्ड अध्यक्षको भनाई छ । यस्तै काठमाडौं उपत्यकाभित्र लागू भएको बक्सअफिस सिस्टम पनि चाँडै कार्यन्यवनमा ल्याउने बताए ।

बोर्ड सदस्य नरेन्द्र महर्जनले कार्यक्रममा आफ्नो भनाई राख्दै साउन १ गतेभित्र देशभर बक्सअफिस लागू हुने दावी गरे । उनले भने- ’बक्सअफिस लागु गर्ने हामी सम्पूर्ण सिनेमाकर्मीहरुको सपना थियो । अब हामी त्यो सपनाको नजिक पुगेका छौं ।’ यस्तै, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्सअफिस लागू गर्न सरकार आफैं अग्रसर भएकोमा खुसी व्यक्त गरे ।