‘भारत’ बन्यो वर्षकै ठुलो ओपनर, विश्वकप क्रिकेटले पारेन असर

‘भारत’ बन्यो वर्षकै ठुलो ओपनर, विश्वकप क्रिकेटले पारेन असर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड बक्सअफिसका किङ मानिने सलमान खानले पुन: एकपटक बक्सअफिसमा आफुलाई प्रमाणित गरिदिएका छन् । बुधबार रिलिज भएको उनको ‘भारत’ले कीर्तिमानी व्यापार गर्न सफल भएको छ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दिएको जानकारी अनुसार पहिलो दिन सिनेमाले घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ छाप्यो । २०१९ को लागि यो नै पहिलो दिनको सर्वाधिक ठुलो सुरुवात हो । यसअघि यो रेकर्ड ‘कलंक’को नाममा थियो । फ्लप सिनेमामा सुचिकृत ‘कलंक’ले पहिलो दिन २१.६० करोड कमाएको थियो ।इदको विदामा रिलिज भएको सिनेमा, यो विदामा सर्वाधिक कमाउने सिनेमाको अग्रस्थानमा समेत सुचिकृत भएको छ । यसअघि २०१६ को इदमा रिलिज भएको ‘सुल्तान’ले ३६.५४ करोड कमाएको थियो ।त्यस्तै सलमानको करिअरकै सर्वाधिक ठुलो ओपनर बन्दा ‘भारत’ले ‘प्रेम रतन धन पायो’को ४०.३५ करोडको कमाईलाई उछिन्न सफल भयो ।

घरेलु बक्सअफिसमा ४,७०० स्क्रिनमा रिलिज भएको सिनेमालाई विश्वकप क्रिकेटले असर गर्ने अनुमान गरिएको थियो । तर, सकारात्मक समिक्षा बटुलेको सिनेमालाई विश्वकपले खासै असर गरेन । बुधबार भारतले चिरप्रतिद्वन्दी दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकप २०१९ को यात्रा सुरु गरेको छ ।अलि अब्बास जफर निर्देशित सिनेमाले भारत–पाकिस्तान विभाजनको क्रममा बुवा र बहिनी हराएका एक पात्रको मानसिक र भौतिक यात्राको कथा पेश गर्छ । सिनेमामा सलमानसँगै कट्रिना कैफ, तबु, दिशा पटानी, सुनिल ग्रोवर, ज्याकी श्रोफ लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमाले नेपाली बक्सअफिसमा पनि पहिलो दिन करिब शतप्रतिशतको अकुपेन्सी कायम गरेको थियो । तर, अंक गणितीय नम्बर भने सार्वजनिक भएको छैन ।