पहिलो दिन सर्वाधिक कमाई गर्ने १० बलिउड सिनेमा

पहिलो दिन सर्वाधिक कमाई गर्ने १० बलिउड सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बुधबार इदको अवसरमा रिलिज भएको सिनेमा ‘भारत’ले केहि रेकर्ड भत्काउदै बक्सअफिसमा ४२.३० करोडको बम्पर ओपनिङ गर्यो । पछिल्लो सिनेमा ‘रेस ३’ बक्सअफिसमा असफल भएपछि सलमान खानको स्टारडम खस्किएको विश्लेषण गरियो ।

तर, ‘भारत’को जबर्जस्त कमाईले सबै विश्लेषणलाई फेल खुवाई खुवाइदिएको छ । सलमानको करिअरकै ठुलो ओपनर बन्दा ‘भारत’ले आमिर खान र शाहरुख खानको रेकर्ड भने तोड्न सकेन ।

पछिल्लो केहि वर्षमा तीन खानका सिनेमाको ओपनिङ डे कलेक्सन, ३० देखि ५० करोड बीचको आँकडा आउन थालेको छ । यहाँ घरेलु बक्सअफिसमा पहिलो दिन सर्वाधिक कमाई गर्ने टप १० बलिउड सिनेमाको सुची तयार गरिएको छ । हेरौँ, सलमानको ‘भारत’ कति औँ स्थानमा छ ।

१) ठग्स अफ हिन्दोस्तान (२०१८)

बलिउडको इतिहाँसमै पहिलो दिन सर्वाधिक कमाउनेको रेकर्ड राखेको ‘ठग्स अफ हिन्दोस्तान’ २०१८ को ‘बिगेस्ट फ्लप’ सिनेमा हो । पहिलो दिन ५०.७५ करोडको व्यापार गरेको सिनेमालाई माउथ पब्लिसिटी र समिक्षकबाट प्राप्त कमजोर समिक्षाले डुबाएको थियो ।

आमिर खान, अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना सैखजस्ता कलाकारले भिडको बक्सअफिसमा ४ सय करोड माथिको आँकडा छुने अनुमान थियो । तर, ३ सय करोडको बजेटमा निर्मित सिनेमाले १ सय ४५ करोड मात्र कमाउन सफल भयो । विजयकृष्ण आचार्य निर्देशित सिनेमा बलिउडकै महँगो हो ।

२) ह्याप्पी न्यु ईयर (२०१४)

शाहरुख खानको करिअरमै सर्वाधिक ठुलो ओपनिङ दिएको ‘ह्याप्पी न्यु ईयर’ बलिउडको दोस्रो ठुलो ओपनर हो । ४२.६२ करोडको ओपनिङ गरे पनि यो सिनेमाले बक्सअफिसमा हिटको ट्याग भिर्न पाएन ।

लाइफटाइम २०५ करोडमा खुम्चिदा निर्मातालाई केहि प्रतिशत मात्र मुनाफा दियो । दीपिका पादुकोण, अभिषेक बच्चन, बोमन इरानी, ज्याकी श्रोफ, सोनु सुधलगायतका कलाकारले अभिनय गरेको सिनेमालाई १ सय ५० करोडको बजेटमा निर्माण गरिएको थियो । सिनेमालाई फराह खानले निर्देशन गरेकी थिइन् ।

यो फिल्म पश्चात शाहरुखको स्टारडम ह्वात्तै घटेको छ । सम्भवत: अब शाहरुखको करिअरकै ठुलो ओपनरको रुपमा ‘ह्याप्पी न्यु ईयर’ रहीरहने छ ।

३) भारत (२०१९)

सलमान खानको करिअरकै सर्वाधिक ठुलो ओपनर बनेको ‘भारत’ले बक्सअफिसमा ३ सय करोडको आँकडा छुने अनुमान गरिएको छ । दुई दिनमा सिनेमाले ७३.३० करोड कमाई गरिसकेको छ ।

१ सय २५ करोडको बजेटमा निर्मित सिनेमालाई मिश्रीत प्रतिक्रिया प्राप्त भैरहेको छ । अलि अब्बास जफर निर्देशित सिनेमामा कट्रिना कैफ, तबु, दिशा पटानी, ज्याकी श्रोफ, सुनिल ग्रोवर जस्ता कलाकारको अभिनय छ ।

४) प्रेम रतन धन पायो (२०१५)

सलमान खानको दोस्रो ठुलो ओपनर ‘प्रेम रतन धन पायो’ले ४०.३५ करोडको ओपनिङ गरेको थियो । तर, कमजोर समिक्षाको कारण सिनेमा ब्लकबस्टरको रेसबाट बाहिरिदै हिट मात्र रह्यो ।

१ सय १५ करोड बजेटमा निर्माण गरिएको सिनेमाले लाइफटाइम २०७ करोड कमायो । सूरज बर्जत्य निर्देशित सिनेमामा सलमानको अलावा सोनम कपूर, नील नितिन मुकेश र श्वरा भास्करको मुख्य भूमिका थियो ।

५) सुल्तान (२०१६)

३६.५४ करोडको ओपनिङ गरेको ‘सुल्तान’ बलिउडको पाँचौ ठुलो ओपनर हो । सलमान खान र अनुष्का शर्मा अभिनित सिनेमाले लाइफटाइम ३ सय करोडको आँकडा पार गरेको थियो ।

अलि अब्बास जफर निर्देशित सिनेमालाई ९० करोड खर्चिएर रिलिज गरिएको थियो । सिनेमाले समिक्षक र दर्शकबाट खासै सहराना भेटेको थिएन ।

६) सन्जु (२०१८)

रनबिर कपूर स्टारर ‘सन्जु’ २०१८ को सर्वाधिक कमाउने बलिउड सिनेमा हो । राजकुमार हिरानी निर्देशित सिनेमाले पहिलो दिन ३४.७५ करोडको सुरुवात गरेको थियो ।

समिक्षक र दर्शकले औधि रुचाएको सिनेमा बलिउड सुपरस्टार संजय दत्तको जीवनीमा आधारित थियो । सय करोडको बजेटमा निर्माण गरिएको सिनेमाले लाइफटाइम कलेक्सन ३ सय ४१ करोड पुर्याएको थियो ।

७) टाइगर जिन्दा हे (२०१७)

सलमान खानकै सिनेमा ‘टाइगर जिन्दा हे’ बलिउड ठुलो ओपनरको सुचीमा सातौँ नम्बरमा आउँछ । ३४.१० करोडको सुरुवात गर्दा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको थियो । त्यसैले लाइफटाइम कमाई ३ सय ४० करोडको आसपासमा रह्यो ।

अलि अब्बास जफर निर्देशित सिनेमा १ सय ५० करोडको बजेटमा रिलिज भएको थियो ।

८) धूम ३ (२०१३)

आमिर खानको ‘धूम ३’ले लाइफटाइम २ सय ८० करोड कमाउँदा ३३.४२ करोडको कमाईबाट पहिलो दिनको सुरुवात गरेको थियो । करिब ६ वर्ष अगाडी रिलिज भएको सिनेमालाई विजयकृष्ण आचार्यले निर्देशन गरेका थिए ।

कट्रिना कैफ, अभिषेक बच्चन र उदय चोपडाले पनि अभिनय गरेको सिनेमालाई १ सय ७५ करोडको बजेटमा निर्माण गरिएको थियो ।

९) चेन्नई एक्सप्रेस (२०१३)

शाहरुख खान र दीपिका पादुकोण स्टारर ‘चेन्नई एक्सप्रेस’ शाहरुखको करिअरमा सबै भन्दा धेरै कमाउने सिनेमा हो । यसले उतिबेला ३३.१० करोडको ओपनिङ गरेको थियो ।

रोहित सेट्टीले निर्देशन गरेको सिनेमालाई १ सय १५ करोडको बजेटमा निर्माण गरिएको थियो । भने, लाइफटाइम कमाई २ सय २७ करोड रह्यो ।

१०) एक था टाइगर (२०१२)

सलमान खानकै सिनेमा ‘एक था टाइगर’ ‘बिगेस्ट ओपनर’को १० औँ स्थानमा छ । ३२.९२ करोडको ओपनिङ गरेको सिनेमाले लाइफटाइम १ सय ९८ करोड कमाएको थियो ।

कबिर खान निर्देशित सिनेमालाई ७५ करोडको बजेटमा तयार गरिएको थियो । सिनेमामा सलमानको अपोजिट कट्रिना कैफ थिइन् ।

टप १० ओपनरमा सलमानको ५ सिनेमा

बलिउड बक्सअफिसका किङ नै मानिने सलमान खानको सिनेमाले बक्सअफिसमा जबर्जस्त कमाई गर्छन । केहि गरि सिनेमा फ्लप भएपनि सय करोड भन्दा माथिको व्यापार गरेकै हुन्छन ।

टप १० ‘बिगेस्ट ओपनर’को सुचीमा सलमानको ५ सिनेमा अटाएका छन् । भने, आमिर र शाहरुखको समान २/२ सिनेमा परेका छन् । त्यस्तै रनबिर कपूरको १ सिनेमा सुचीकृत छ ।