कलाकार संघको चुनावमा रविन्द्र खड्काको प्यानल विजयी

कलाकार संघको चुनावमा रविन्द्र खड्काको प्यानल विजयी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का नेतृत्वको प्यानल निर्वाचित भएको छ । अन्य पदाधिकारीतर्फ खड्का प्यानलका उपाध्यक्ष पदका उम्मेदवार विनोद कुमार भट्टराई बाहेक सबै उम्मेदवार विजयी भएका छन् । नेकपाका सक्रिय कार्यकर्ता रहेका अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । कलाकार सघंको चुनावमा जम्मा ३८७ मत खसेको थियो । शनिबार राती सम्पन्न चुनावमा रविन्द्र खड्काको पक्षमा २१८ र सरिता लामिछानेको पक्षमा १६१ मत खरेको थियो ।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले सर्वाधिक २४३ मत ल्याउँदै विजयी हासिल गरेकी हुन् । उनले संघका अन्य उम्मेदवारहरु मध्येकै सबैभन्दा धेरै मत पाएकी थिइन् । अर्को उपाध्यक्षमा सानु कुमार ताम्राकारले (१७५) पाएर विजयी भएका छन् । यस्तै उपाध्यक्षका अन्य दुई उम्मेदवार मनोज केसी (१४२) र विनोद भट्टराई ९६ मत ल्याउँदै हार बेहोरे । महासचिवमा सञ्जय खतिवडा (१५६) लाई ३१ मतले हराउँदै चेत बहादुर सिंह विजयी भएका छन् । खतिवडा (१५६) पाए भने अर्का सिंहले (१८७) पाए ।यस्तै, सचिव पदमा पनाह अधिकारीले कविता गेलाललाई २५ मत अन्तरले हराएर विजयी हासिल गरिन् । अधिकारीले (१९४) पाएकी थिइन् भने गेलालले (१६९) मत पाएकी थिइन् । अध्यक्षमा निर्वाचित भएका खड्का प्यानलका सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका छन् । यस्तै, सह(कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्यले २२० मत ल्याएर जित हासिल गरिन् । उनका प्रतिस्पर्धी डि.बि बम्जनले १३३ मत पाएका थिए ।

त्यस्तै, १० जना निर्वाचित सदस्यमा शितल केसीले सर्वाधिक मत ल्याएका छन् । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले विजयी हासिल गरे । तीन वर्षका लागि अध्यक्षको कार्यभार सम्हाल्ने खड्काले कलाकार संघलाई कलाकारहरुको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।उनले भने ’तीन वर्षको कार्यकालमा मैले गरेका प्रतिवद्धताहरु पूरा गरेरै छाड्छु । निर्वाचित कार्यसमितिको पहिलो काम संघको भवन निर्माण गर्ने हुनेछ । यो कलाकारहरुको माग र आवश्यकता पनि हो ।’ उनले अध्यक्षमा पराजित भएकी सरितालाई पनि आफूले सम्मानका साथ संघमा राख्ने बताए । उनले संघलाई राजनीतिबाट मुक्त बनाउने पनि प्रतिवद्धता जनाए ।

सरिताले आफू पराजित भएपछि अध्यक्षमा निर्वाचित भएका खड्कालाई खादा र फूलको बुकेटद्वारा बधाई दिएकी थिएन् । उनले अध्यक्षमा ग्रैह कलाकार नआएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ’प्रतिस्पर्धामा हार र जित हुन्छ । रविन्द्र दाईले जित्नु भयो, त्यो भनेको सबै कलाकारहरुको जित हो । उहाँको ठाउँमा अरु कुनै ग्रैह कलाकार आएको भए म दुःखी हुन्थेँ । रविन्द्र दाईको जितले म दुःखी छैन ।’ उनले अध्यक्षमा निर्वाचित खड्कालाई आफूले गरेको प्रतिवद्धता पूरा गर्न पनि सुझाव दिनुका साथै कलाकारको मुद्धाहरुमा राजनिती नर्गन आग्रह गरिन् ।