‘कबड्डी कबड्डी कबड्डी’ को सेटमा रोमान्टिक दयाहाङ र उपासना

‘कबड्डी कबड्डी कबड्डी’ को सेटमा रोमान्टिक दयाहाङ र उपासना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरस्टारर अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘क्याप्टेन’बाट डेव्यु गरेकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । ‘क्याप्टेन’ रिलिज ताका उपासनाको चर्चा परिचर्चा निकै भएको थियो । उनलाई नेपाली सिनेमा क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेकी थिइन् । उनै उपासना अहिले दोस्रो सिनेमाको रुपमा सुपरहिट सिनेमा ‘कबड्डी’को तेस्रो सिरिजमा काम गरिरहेकी छन् ।केही हप्तायता यो सिनेमाको छायांकन कास्की जिल्लाको पर्यटकिय स्थल घान्द्रुकमा भइरहेको छ । रामबाबु गुरुङले निर्देशन गरिरहेको सिनेमामा उपासनाको अपोजिटमा अभिनेताद्वय दयाहाङ राई र कर्मा शाक्य छन् । ‘कबड्डी’ को दुबै सिरिजमा ‘मैयाँ’ को भूमिकामा अभिनय गरेकी अभिनेत्री रिश्मा गुरुङको पनि यो सिनेमामा मुख्य भुमिका रहेको छ ।

सिनेमामा उपासनाको रोल एकदमै भिन्न रहेको निर्माण टिमको भनाई छ । तर, अहिलेसम्म पनि निर्माण टिमले उनको भूमिकाबारे कुनै जानकारी गराएको छैन । उपासनाले आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेको तश्वीरबाट भने उनी सिनेमामा साधारण गाउँले युवतीको भूमिकामा रहेको अनुमान लगाउन दर्शकलाई गाह्रो पर्दैन ।यस सिनेमाबाट दयाहाङ र उपासना दुबैले ठूलो आशा बोकेका छन् । छायांकन पनि पूरा नहुँदै ‘कबड्डी कबड्डी कबड्डी’ ले व्यापारिक सफलता हात पार्ने सिनेमा क्षेत्रमा चर्चा सुरु भैसकेको छ । यो सिनेमाले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्ध बिचको अन्तरद्वन्द्वको कथा भन्ने छ । सिनेमामा माओत्से गुरुङ, पुस्कर गुरुङ, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ को सेटबाट उपासनाले हरेक दिन जसो आफ्ना तश्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन् । हालै उनले इन्स्टामा अभिनेता दयाहाङसँगका केही तश्वीरहरु सेयर गरेकी छन् । जसमा उनीहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । उपासनाले दयाहाङको काँधमा आफ्नो हात राखेकी छन् । दयाहाङ भने उपासनालाई हेरेर मुस्कुराएका छन् । उनीहरुको साथमा केही बच्चाहरुलाई पनि देख्न सकिन्छ ।