अदालतले स्टे अर्डर खारेज गर्यो, अब शुक्रबार मात्र सिनेमा रिलिज

अदालतले स्टे अर्डर खारेज गर्यो, अब शुक्रबार मात्र सिनेमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख ४ गते बुधबार नेपालमा बलिउड सिनेमा ‘कलंक’ रिलिजको तयारी गर्दै थियो । नेपाली सिनेमा शुक्रबार मात्र रिलिज हुने तर, विदेशी बुधबारै आउँदा निर्माताहरु अन्यायमा परेका थिए ।

नवनियुक्त चलचित्र बिकास बोर्ड अध्यक्ष केशब भट्टराईले विदेशी सिनेमाको बुधबारे रिलिजमा अंकुश लगाउँदै ‘कलंक’ रिलिज रोकिदिए । उनको चौतर्फी चर्चा भयो । विदेशी सिनेमा वितरकलाई भने यस कदमले बिझाइरहेको थियो ।

करिब २ महिना पश्चात बलिउडको ‘भारत’ नेपालमा बुधबारै आउँदै थियो । यसपटक पनि रिलिज रोक्न लागिपरेका अध्यक्ष भट्टराईको केहि शिप लागेन ‘जब जिल्ला अदालतबाट भारतलाई बुधबारै रिलिज गर्न स्टे अर्डर आयो ।’

‘भारत’ बुधबारै रिलिज भयो । जसको डरले नेपाली ठुला सिनेमा रिलिज भएनन् । ‘भारत’ रिलिज भएपछि बोर्ड अध्यक्ष भट्टराईलाई पुन: चुनौती आइपर्यो । बोर्डले अदालतमा गलत व्याख्या गरिएको भन्दै जिल्ला अदालतलाई स्पष्टिकरण पठायो ।

बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौँ जिल्ला अदालतले उक्त स्टे अर्डर खारेज गरिदिएको छ । भारत रिलिज गर्न स्टे अर्डर दिएको अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतीका मुद्धाहरु अब अदालतमा नजाने बोर्डले जनाएको छ ।

शुरुमा ब्याङ्कटेस ईन्टरटेन्मेन्टले आफ्नो स्वार्थका आधारमा एक पक्षिय तरिकाले काठमाडौँ  जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको थियो । बोर्डको स्पष्टिकरण पछि उक्त मुद्धालाई पूर्ण रुपमा कारबाही गर्दै स्टे अर्डर खारेज गरेको हो ।

स्टे अर्डर खारेजसँगै अब सबै सिनेमा शुक्रवार मात्रै रिलिज हुने बोर्डले जनाएको छ । ‘एउटा घटनाबाट पाठ सबै निर्माता र वितरकले सिक्न जरुरी छ । यो घटना कसैको फाईदा र बेफाईदाको लागि हैन । समग्र नेपाली फिल्मको पक्ष र हितमा भएको हो । हामीले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेका छौँ । कुनै पनि विदेशी सिनेमा हामी रोक्दैनौँ । तर, नेपाली सिनेमालाई असर नहुने गरि रिलिज गर्ने प्रक्रिया शुरु गर्ने बोर्डको चाहना हो ।’ बोर्ड अध्यक्ष भट्टराईले भने ।