कथा ‘आप्पा’को

कथा ‘आप्पा’को

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारत कालिम्पोङका नेपाली भाषी अनमोल गुरुङको आमाको साथीको बुबा बित्नु भएको थियो । काम विशेषले आमा व्यस्त हुँदा अनमोल आफै मलामी जानु पर्यो । त्यहाँ पुग्दा सबैजना रोइ रहेका थिए । सबैको अवस्था खराब थियो ।

यसअघि पनि थुप्रै ठाउँमा मलामी गएका अनमोललाई औपचारिकतामा मात्र निभाउनु थियो । किनकी, मान्छे मरेको देख्नु उनको लागि सामान्य भैसकेको थियो । प्राय: मान्छे बित्दा अनमोललाई खासै असर पर्दैनथ्यो । किनकी, ‘मान्छे जन्मेपछि मर्नुपर्ने नियमलाई हामि नकार्न सक्दैनौँ भन्ने’ उनिमा ज्ञात थियो । तर, यसपटक अनमोलको मनमा एउटा प्रश्न उब्जियो, ‘यदि कुनै दिन मैले मेरो बुबालाई गुमाए भने कस्तो अनुभव गर्नुपर्ला ?’  मन भित्र डरले डंका पिट्न थाल्यो । उनि अरुको बारेमा भन्दा बढी आफ्नो बारेमा सोच्न थाले । मलामीको भिडमा उनलाई डरले एक्लै पारिदियो ।

फ्ल्यास ब्याकमा बुबाको प्रेम…

बुबासँग बिताएका हेरेक पल उनको मानसपलटमा सल्बलाउन थाले । बुबाले सन्तानको लागि कतिसम्म त्याग गर्न सक्छ ? उसले सन्तानको निमित्त भनेर आफ्ना कति इछ्या र चाहना मारेको छ ? जस्ता जिज्ञासाले सताइरह्यो ।

सन्तानको लागि मरिमेट्ने बुबालाई हामी ‘सुपरम्यान’ जस्तो सम्झिन्छौँ । जे मागे पनि बुबाले सजिलै पुर्याउनु हुन्छ भन्ने हामीमा त्यो अन्धविश्वास लुकेको हुन्छ । तर, बुबाको त्याग, मायालाई हामीले कहिले स्मरण गर्दैनौँ । उनलाई आफैदेखि लाज लाग्यो ।

मनमा खेलेका यी कुराले उनमा ठुलो परिवर्तन ल्याईदियो । उनले बुबालाई एकपटक ‘आइ लभ यु’ भन्छु भन्ने आँट गरे । यसअघि अनमोलले बुबाको लागि यस्तो प्रयास गरेका थिएनन् ।

‘आइ लभ यु’ भन्न नसकेको क्षण…

मनभरि प्रेम र सम्मान लिएर उनी बुबालाई ‘आइ लभ यु’ भन्न गए । तर, सकेनन् । म्यासेज गर्न खोजे – हात काप्यो । आफुदेखि लज्जाबोध भयो । त्यसपछि उनको मनमा अर्को प्रश्नले डेरा जमायो । आखिर किन मैले बुबाप्रतिको प्रेम प्रष्फुटन गर्न सकिन ?

उनले आफ्नो नजिकको साथीहरुलाई समस्या सुनाए । जवाफमा उनीहरुको पनि त्यहि समस्या पाए । अनि मनमा अर्को प्रश्न खेल्न थाल्यो ‘हामी किन बुबालाई माया गर्छु भन्न सक्दैनौँ ?’ प्राय: छोराको यहि समस्या देखियो । अनमोलले ‘द सिनेमा टाइम्स’को माध्यमबाट पाठकलाई प्रश्न गरे ‘के तपाईले अहिलेसम्म बुबालाई ‘आइ लभ यु’ भन्नु भएको छ ?

यहि प्रश्नको उत्तर दिन र बुबाप्रतिको प्रेम दर्साउन उनले फिल्म बनाउने सोच बनाए । र, बुबाको प्रेमलाई लिएर कथा लेख्न सुरु गरे । पहिलो लाइन लेखियो ‘आफ्नो प्रेमिकालाई ‘लभ यु’ भन्दा-भन्दै मुख पनि थाक्छ । तर, आप्पा तिमीलाई माया गर्छु भन्दा किन लाज लाग्छ ?’

ट्रेकिङले जन्मियो पात्र…

अब कुन पात्रको माध्यमबाट बुबाको कथा भन्ने कुरा थियो । जहाँ बाबु-छोरा त अपरिहार्य नै थियो । त्यसमा जोडिन आउथिन ‘आमा’ । ‘आमा’को प्रेमलाई हामी कसैले बुझ्न सक्दैनौँ । र, त्यो पात्रलाई सजिलै सिनेमामा प्रस्तुत गर्न सक्ने अवस्था थिएन । त्यसैले कथामा रगतको नाता छोडेर भावनाको नाताको सहारा लिन पुगे । तर, पात्र, परिवेश र पृष्ठभूमिको कहाँको राख्ने भन्ने निर्णय गर्न सकेनन् । लेखन रोकियो ।

केहि दिन पछि साथिहरुसँग दार्जिलिङको उच्च पहाडी क्षेत्र सन्दकफु भन्ने ठाउँमा ट्रेकिङको लागि निस्किए । मोटो ज्यान भएपनि अनमोल ट्रेकिङको सोखिन हुन् । त्यस ट्रेकिङमा आफ्नो ड्रिम प्रोजेक्टको पृष्ठभूमि र पात्र भेट्टाउछु भन्ने उनले सोचेका पनि थिएनन् । तर, अजिङ्गरको आहारा दैवले पुर्याउछ भने जस्तै भयो ।

उच्च पहाडी क्षेत्रमा (४*४ ल्याण्ड रोभर) गाडी चलाउने रैथाने ड्राइभर उनको कथासँग सुहाए । त्यहि लवज, रहनसहनलाई पृष्ठभूमि बनाउने सोच पलायो । जो दर्शकको लागि फ्रेस पनि थियो । र, ‘आप्पा’को कथाले पुन: गति लियो ।

कथाको एक लाइन…

उक्त पात्रले दार्जिलिङको उच्च पहाडी भेगमा ट्याक्सी कुदाउँछन् । दुर्भाग्यबस ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुन्छ । सबै यात्रुको मृत्यु हुँदा त्यो पात्र  र एक बालकको मात्र ज्यान जोगिन्छ । त्यसपछि सिनेमाले मोड लिन्छ ।

सिनेमामा त्यो पात्रको रुपमा दयाहाङ राईले अभिनय गरेका छन् । दयाले उक्त बच्चालाई आफ्नो छोरा जसरि हुर्काउछन । त्यसपछि बाबु-छोराको सम्बन्धको कथा अगाडी बढ्छ ।

रोचक कुरा त के छ ? भने, निर्देशक अनमोल यसै साता छोरीको बुबा बनेका छन् ।