‘आप्पा’को लागि सिद्धान्त होइन नाजिर थिए पहिलो रोजाइ !

‘आप्पा’को लागि सिद्धान्त होइन नाजिर थिए पहिलो रोजाइ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असार १३ गते रिलिज हुने  सिनेमा ‘आप्पा’ अहिले चर्चा छ । सिनेमाको ट्रेलर, गीत, संगीतले दर्शकसँग एक किसिमको भावनात्मक सम्बन्ध बनाइसकेको छ ।अनमोल गुरुङको डेब्यु निर्देशनमा बनेको सिनेमाले बुबा-छोराको भावनात्मक सम्बन्धको कथा पेस गर्छ । त्यसैले निर्देशकले जुन रुपमा सिनेमा प्रस्तुत गर्न खोजेका थिए, त्यहि रुपमा प्रचार सामाग्रीले चर्चा बटुलिरहेका छन् । र, प्रतिक्रिया पनि सकारात्मक छ ।

अनमोलले ‘आप्पा’बाट दुई नयाँ कलाकारलाई भित्र्याउँदै छन् । भारत कालिम्पोङका स्थानीय सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाले ‘आप्पा’बाट अभिनय यात्रा थालनी गर्दैछन् । यी दुई नन-एक्टर हुन् । अल्लोना सिनेमाको लागि पहिले नै फाइनल भैसकेकी थिइन् । उनको युवाअवस्था र परिपक्कता कथाको माग पनि थियो ।

पात्र छनोटको क्रममा सिद्धान्त निर्देशकको पहिलो रोजाइ थिएनन् । लिडमा दयाहाङ फाइनल भैसकेपछि छोराको भूमिकाको लागि निर्देशक पात्र खोजिरहेका थिए । उनलाई बेङ्गाली देखिने, रहनसहनमा भिजेको र शुद्ध नेपाली भाषा बोल्ने युवक चाहिएको थियो । जुन पात्रमा नाजिर हुसेन केहि सुहाउँदा थिए । निर्देशकले नाजिरलाई अप्रोच गर्ने योजना बनाउँदै थिए ।

तर, सिने क्षेत्रमा मज्जैले भिजिसकेका नाजिरलाई नलिने निधोमा पुगे । किनकी, भोगाइ, रहनसहन नमिल्ने भएपछि अनमोलले नाजिरलाई दिमागबाट हटाइदिए । त्यसैमा नन-एक्टर लिँदा कथाको भावनासँग खेलाउन सजिलो हुने देखिएपछि नाजिरको ठाउँमा सिद्धान्त छनोट भए ।

वेटर हुँदै एक्टर

अनमोलले खोजेको पात्र उनकै अफिस नजिक थिए । तर, अनमोलले उनलाई गम्भीर रुपमा हेरेका थिएनन् । अफिस छेउमै खाजा खाने रेस्टुरेन्टमा वेटरको काम गर्ने सिद्धान्तनै अन्तिममा अनमोलको हिरो बन्न पुगे ।

जब अनमोलले आफ्नो पात्रको मापदण्ड माथी सिद्धान्तलाई राखेर हेरे, उनि उत्तीर्ण भए । अलिक कालो वर्णका सिद्धान्त मिजासिला छन् । नेपाली प्रष्ट बोल्न सक्ने सिद्धान्त वेस्ट बेंगलको रहनसहन भिजेका पनि छन् । नन-एक्टर भएकाले उनीबाट भावनात्मक प्रस्तुति निकाल्न निर्देशकलाई सजिलो पनि भयो ।

दयाहाङ, सिद्धान्त, अल्लोनासँगै तुलसी घिमिरे र अरुणा कार्की बीचको पाँच पात्रमा सिनेमाको कथा घुमेको छ ।