‘प्रेमगीत ३’मा प्रेमको गीत बन्दै कृष्टिना गुरुङ

‘प्रेमगीत ३’मा प्रेमको गीत बन्दै कृष्टिना गुरुङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माण घोषणा देखि नै चर्चामा रहेको सिनेमा ‘प्रेमगीत ३’ निर्माण टिमले मुख्य अभिनेत्रीको रुपमा कृष्टिना गुरुङलाई फाइनल गरेको छ । गीत बन्नको लागी आवेदन दिएका दुई हजार सात सय मध्येबाट उत्कृष्ट २५ मा पर्न सफल भएकी अमेरिकामा बसोबास गर्ने कृष्टिना गुरुङलाई चयन गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । कृष्टिना केही समय अघि गीतको अडिसनको लागी अमेरिकाबाट नेपाल आएकी थिइन् ।

मुख्य अभिनेत्री पक्का भएसँगै प्रेमगीत ३ को लाइनअप निकै बलियो भएको छ । सिनेमामा यसअघि नै मुख्य कलाकारको रुपमा प्रदीप, खड्का, शिव श्रेष्ठ, सुनिल थापा, निर्माता सन्तोष सेन, मनिष राउत, प्रेम पुरी, बालकलाकार अनुभव रेग्मी लगायत फाइनल भैसकेका छन् । आगाकी नयाँ वर्षको अवसर पारेर चैत्र २८ गतेलाई सिनेमाको प्रदर्शन मिति पक्का गरिएको छ ।अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको निर्माता सन्तोष सेनले बताए । दर्शकले पनि प्रदीपसँग क्रिस्टिनाको जोडी सुहाउने प्रतिक्रिया दिँदै आएका थिए । ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले आइतबार उनको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेको छ । प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दै्छिन् । परिवारसँग अमेरिकामा बस्दै आएकी उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् ।लामो समयदेखि ‘गीत’ क्यारेक्टरलाई लिएर दर्शकमा निकै कौतुहलता थियो । क्रिस्टिना ’गीत’ पात्रमा अनुबन्ध भए पनि बाँकी २४ जना अयोग्य नभएको निर्माता सेन बताउँछन् । उनी भन्छन्, ’यो कुनै प्रतिस्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना सबै समान प्रतिभाशाली थिए । हामीले मात्र सिनेमाको कथा अनुसार सुहाउँदो ’गीत’ को खोजी गरेका हौं । यो कुरा सबैले बुझ्न जरुरी छ ।’

आशुसेन फिल्मस्को आगामी सिनेमामा कथाअनुसार सुहाउँदो पात्र भेटे ’प्रेमगीत ३’ मा छनोट नभएका २४ जनामा कोही रहन सक्ने पनि बताए । ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले सिनेमाको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली सिनेमा क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ ।