विकास बोर्डको १९ औं बार्षिकोत्सवमा १९ सिनेकर्मी सम्मानित

विकास बोर्डको १९ औं बार्षिकोत्सवमा १९ सिनेकर्मी सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको १९ औं बार्षिकोत्सवमा भव्य रुपमा मनाएको छ । सोमबार काठमाण्डौमा रहेको बोर्डको आफ्नै सभा हलमा आयोजित कार्यक्रममा विभिन्न लामो समय देखि सिनेमा क्षेत्रमा आवद्ध सिनेमाकर्मीलाई सम्मानित समेत गरिएको थियो । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा बोर्डले बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको थियो ।कार्यक्रममा विकास बोर्डका पूर्व अध्यक्षहरु यादव खरेल, निर शाह, शम्भूजित बास्कोटा, राजकुमार राई, कृष्ण मल्ल लगायत उपस्थिती रहेको थियो । १९ औं वार्षिक उत्सवको अवसर पारेर विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना सिनेमालाई डिजिटल प्रविधिमा ढालेको छ । जसमा ‘आमा, हिजो आज र भोली, जीवनरेखा, के घर के डेरा, सिन्दुर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिदो आकाश, शान्तिदीप छन् । अन्य चलचित्रलाई पनि विस्तारै डिजिटल प्रविधिमा रुपान्तरण गर्ने बोर्डको योजना छ ।कार्यक्रममा सिनेमा क्षेत्रको विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट सिनेमाकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा नेपालको पहिलो अभिनेत्री भुवन चन्द, अभिनेता भुवन केसी, अभिनेता शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, साउण्ड इन्जिनियर प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी निर्देशक तोशी आकी इतोह (जापान), सिनेमा पत्रकार विजयरत्न तुलाधर, यस्तै, विज्ञापन एजेन्सी(आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल, नकिम उद्दिनलाई सम्मानित गरिएको थियो । कामना पब्लिकेसनलाई पनि बोर्डको कार्यक्रममा सम्मानित गरियो ।कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले आफू सिनेमा क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर काम गर्न सधै नै तयार भएको बताए । यस्तै, १९ औं बार्षिक उत्सव कार्यक्रममा चलचित्र विकास बोर्डले आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेको थियो । बोर्डले यो बर्ष ३ करोड रुपैयाँ सरकारको सहयोग र १७ करोड आन्तरिक श्रोतबाट उठाउने लक्ष्य राखेको बोर्ड अध्यक्ष भट्टराईले बताएका छन् ।उक्त कार्यक्रममा यो वर्ष प्रदर्शन भएका तीन सिनेमान बुलबु, कथा ७२ र गोपीलाई विशेष सिनेमाको विघामा सम्मान गरिएको छ । भने, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेत बार्षिक उत्सव कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केशव भट्टराईले तीन वर्षदेखि रोकिएको ’राष्ट्रिय चलचित्र पुस्कार’ असार २७ गते राष्ट्रपति भवनमा बाँडिने जानकारी गराए ।