आइफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

आइफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा हुने भनिएको २० औं इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले नै निर्णय गरेर आयोजनाको संयोजन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले तत्काल सबै तयारी रोक्ने निष्कर्षमा पुगेको जानकारी दिए ।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो । अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो । सबैगरी यो कार्यक्रममा नेपाल सरकारको १ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।४० लाख अमेरिकी डलर नगद, सहभागीका लागि हवाइ टिकट, होटल तथा स्थानीय यातायातका नाममा २५ करोडसम्म खर्च हुने अनुमान थियो । त्यस्तै सुरक्षा तथा अन्य व्यवस्थापनमा पनि करोडौं खर्च हुने पर्यटन बोर्डको प्रक्षेपण थियो । सरकारले नै खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट विरोध भएको थियो ।

विरोधका स्वरहरु बढ्दै गएसँगै संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो । समितिको त्यही निर्देशन र जन भावनाको कदर गर्दै अवार्ड समारोहका लागि सुरू भएका सबै तयारी रोकिने जोशीले बताए । आर्थिक सहयोग सहित आइफा अवार्ड नेपालमा आयोजना गर्ने कुरा बाहिरिएसँगै चौतर्फि विरोध सुरु भएको थियो ।