डा. सिके राउतको जीवनीमाथि बन्ने सिनेमाको निर्माण घोषणा !

डा. सिके राउतको जीवनीमाथि बन्ने सिनेमाको निर्माण घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमाको ‘डा. सिके राउत’को निर्माण घोषणा गरिएको छ । मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली सिनेमा निर्माण हुने भएको हो । ‘डा. सिके राउत’ नाम जुराइएको सिनेमाको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गर्यो ।

सिनेमामा सिके राउतको भूमिका भोजपुरी सिनेमाका ‘पावर स्टार’ परिचित परदेशी शाहले निर्वाह गर्नेछन् । उनी सुपरहिट सिनेमा ‘एस.पी खरेल’ बाट निकै चर्चामा आएका थिए । सिनेमाको घोषणा सभामा सिके राउत स्वयं उपस्थिति भएका थिए । दुई दर्जन बढी भोजपुरी सिनेमाको निर्देशन गरिसकेका निर्देशक सन्तोष शाहले सिनेमाको निर्देशन गर्दैछन् । सिनेमाको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयंले लेखेका हुन् ।नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने सिनेमाको छायांकन विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा गरिने छ । ‘डा. सिके राउत’ का निर्माता बाबु हुन् । ‘डा. सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । भदौबाट सिनेमाको छायांकन सुरु हुनेछ भने आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी निर्माण टिमको छ ।पवन गौतमले छायाँकन रहने सिनेमाका गीतमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले सिनेमाको सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् । रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने सिनेमालाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी ५० प्रतिशत काल्पनिक कथा जोडिने बताइएको छ । अभिनेता शाहले सिनेमामा सिके राउतको भूमिका निर्वाहा गर्न पाउनु आफ्नो लागि ठूलो अवसर र चुनौती रहेको बताए ।सिनेमाको टीजर हेरेपछि सन्तुष्ट देखिएका सिके राउतले मधेश आन्दोलनमा आफूले गरेको संघर्षको कथामा सिनेमा निर्माण हुने बताए । ‘सिनेमा निर्माण गरेपछि चल्नु पनि पर्छ । त्यसैले कमर्शियल बनाउन सिनेमामा केही काल्पनिक दृश्यहरु पनि जोडिनेछ’, उनले सिनेमालाई सिनेमाकै रुपमा बुझ्न आग्रह गर्दै अगाडि भने, ‘सिनेमामा केही विवादस्पद कुरा पनि आउन सक्छन् । तर, त्यो एउटा इतिहास भइसकेको छ ।’ एउटा मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने कुरा सिनेमामा देखाइने सिके राउतको भनाई छ ।