द सिनेमा टाइम्स, काठमाडौँ – अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने सिनेमा ’झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुषाल पश्चात अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ । केकी र मुकुन यसअघि नै यो सिनेमाको मुख्य भुमिकामा फाइनल भैसकेका थिए । आँचल केहीदिन पहिले मात्रै सिनेमाको मुख्य भुमिकामा फाइनल भएकी हुन् ।
निर्देशक देउजाका अनुसार सिनेमामा केकी र आँचलको प्यारालल भुमिका रहेको छ । आँचलले केहि दिन अगाडी सिनेमा साइन गरेको निर्देशक देउजाले बताएका छन् । सिनेमामा उक्त क्यारेक्टरमा राम्रो अभिनय गर्न सक्ने कलाकार चाहिएकोले पनि आँचललाई अनुबन्धित गरिएको उनको भनाई छ ।
साहित्यकार भीमनिधि तिवारीको अख्यानमा आधारित भएर निर्माण हुने सिनेमामा केकी र मुकुनले जोडी बाध्नेछन् । आँचलको जोडी कोसँग बाँधिने छ भन्ने खुलाइएको छैन् । सिनेमामा अन्य २ मुख्य कलाकार पनि फाइनल भैसकेका छन् । तर, निर्माण टिम ती कलाकारलाई भव्य प्रेसमिट गरेर सार्वजनिक गर्ने सोचमा छ ।
कलाकार छनोट कै चरणमा रहेको सिनेमा भदौदेखि छायाँकनमा जानेछ । निर्देशक स्वयमको निर्माण रहने सिनेमालाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिनेछ । कपन गढी सिनेमा प्रा.लिको व्यानरमा निर्माण हुने सिनेमामा अर्जुन पोखरेलले संगीत र प्रदीप भारद्वाजको पटकथारसंवाद रहनेछ ।


प्रतिक्रिया