फ्राईडे रिलिज : हलमा ‘सुपरगोर्खे’ र ‘एकलव्य’

फ्राईडे रिलिज : हलमा ‘सुपरगोर्खे’ र ‘एकलव्य’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबारबाट हलमा दुई सिनेमा ‘सुपर गोर्खे’ र ‘एकलव्य’ रिलिज भएका छन् । दुबै सिनेमा देशभरका सिंगल स्क्रिनमा मात्रै रिलिज भएका छन् । आजबाट प्रदर्शन भएका दुई सिनेमा सुपर गोर्खेलाई राज थापा (गजेन्द्र) र एकलव्यलाई अनमोल शर्माले निर्माण तथा निर्देशन गरेका हुन् ।

‘नाईं नभन्नू ल’ बाट चर्चामा आएकी अभिनेत्री ऋचासिंह ठकुरीले सुपर गोर्खे मार्फत लामो समय पश्चात नेपाली सिनेमा क्षेत्रमा कमब्याक गर्दैछिन् । बैबाहिक जीवनमा बाँधिएपछि उनी अभिनयबाट टाढा थिइन् । करीब ४ वर्षपछि उनले यो सिनेमाबाट कमब्याक गरेकी हुन् । सुपर गोर्खेमा ऋचा सिंह ठकुरीका अलावा सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमामा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी रहेको छ । सौरभ लामाले छायाँकन गरेको सिनेमालाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका हुन् । बिहीबार साँझ राजधानीमा आयोजित प्रियिमर शोमा सिनेमालाई संचारकर्मी र सिनेमाकर्मीबाट राम्रो प्रतिक्रिया मिलेको छ ।

त्यस्तै, आज शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को पारिवारिक प्रेमकथामा आधारित सिनेमा ‘एकलव्य’मा सोनाम थापा मगर, ओसन भट्टराई, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमाले समाजमा घट्ने विभिन्न अपराधिक घटनालाई उठान गरेको छ ।

सिनेमालाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । सिनेमामा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत र संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको छ ।